परिणाममुखी काम गर्न कर्मचारीलाई नवनियुक्त मन्त्री पार्वत गुरुङको निर्देशन

 मंसिर ५, २०७६ बिहिबार १७:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले परिणाममुखी काम गर्न र आफ्नो विश्वासमाथि घात नगर्न कर्मचारीलाई निर्देशन दिनुभएकाे छ ।

मन्त्रालयलमा पदबहालीलगत्तै बिहीबार आयोजित आफ्नो स्वागत र निवर्तमान मन्त्री थममाया थापाको बिदाइ कार्यक्रममा मन्त्री गुरुङले आफूले कर्मचारी संयन्त्रलाई पूर्ण विश्वास गर्ने तर विश्वासघात चाँहि हुन नहुने बताउनुभयाे ।

कार्यक्रममा उहाँले स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रलाई आफूले पूर्णत: विश्वास गर्ने भन्दै उनीहरुको सुझाव र अनुभवलाई परिणाममुखी नतिजा निकाल्नमा लगाउन आग्रह गर्नुभयाे ।

‘समृद्ध नेपाल: सुखी नेपालीको लक्ष्य पूरा गर्न लोककल्याणकारी राज्यको अवधारणालाई आम नागरिकसम्म पुर्याउन काम गर्नुछ’, मन्त्री गुरुङले भन्नुभयो ।

यसअघि बिहीबार बिहान राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएललगत्तै नवनियुक्त मन्त्री गुरुङले सिंहदरबारमा रहेकाे कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएकाे थियाे ।

प्रतिनिधिसभाको चुनावमा दोलखाबाट उम्मेदवार बनेका पार्वत गुरुङ नेकपा एमालेको केन्द्रीय सदस्यसँगै दोलखाको इन्चार्ज हुनुहुन्छ । उहाँको राजनीतिक यात्रा विद्यालयदेखि नै सुरु भएको हो । २०३७ सालमा विद्यार्थीकालमा अनेरास्ववियूमार्फत राजनीति सुरु गरेका उहाँ अनेरास्ववियु दोलखाको पहिलो जिल्ला कमिटी सदस्य बन्नुभयो ।

शान्ति आदर्श माविबाट एसएलसी र महेन्द्ररत्न क्याम्पस ताहाचलबाट बीएडसम्मको अध्ययन गरेका गुरुङले राजनीति शास्त्रमा स्नातक तह र आयुर्वेद क्याम्पसबाट आयुर्वेद चिकित्शाशास्त्रको पनि अध्ययन सक्नुभएको छ ।

२०४६ सालमा नेकपा एमालेको सुरी गाउँ कमिटी सचिव, २०५४ सालमा जिल्ला विकास समितीको सदस्य भएका गुरुङ २०६६ सालमा जिल्ला कमिटी दोलखाको अध्यक्ष हुदै २०७० सालको संविधानसभाको चुनावमा दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया