बन्दीपुरमा सिसाको ‘दृश्यावलोकन स्तम्भ ’

 मंसिर ६, २०७६ शुक्रबार १६:२७:२६ | रासस
unn.prixa.net

तनहुँको बन्दीपुर गाउँपालिकाकाे टुँडिखेलमा निर्माण गर्न लागिएको सिसाको ‘दृश्य स्तम्भ’ । तीन करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको स्तम्भको अहिले डीपीआर निर्माणको काम भैरहेको छ ।

तनहुँ – पर्यटक आकर्षणको केन्द्रका रुपमा विकसित भैरहेको तनहुँको बन्दीपुर गाउँपालिकामा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गरिने भएको छ ।बन्दीपुरको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्न लागेको हो । 

बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि झण्डै तीन करोड रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ । 

‘बन्दीपुर आफैँमा पनि सुन्दर र प्रख्यात पर्यटकीय स्थलका रुपमा विकसित भैरहेको छ’, गाउँपालिका अध्यक्ष थापाले भन्नुभयो, ‘यहाँको पर्यटनका लागि यसले ठूलो योगदान दिनेछ भन्ने अपेक्षा गरेका छौँ ।’ दृश्यावलोकन स्तम्भबाट मनोरम दृश्यावलोकनका लागि दूरबिनको समेत व्यवस्था मिलाइनेछ ।

एक पटकमा १५ जनाले अवलोकन गर्न मिल्ने दृश्यावलोकन स्तम्भको अहिले डीपीआर निर्माण भैरहेको छ । एक हप्ताभित्र डीपीआरको काम सकिने र टेन्डरको प्रक्रिया अगाडि बढाइने थापाले जानकारी दिनुभयो । 

बन्दीपुरमा प्रत्येक वर्ष घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भैरहेको छ । गएको वर्षमात्रै एक लाख ५० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । बन्दीपुर घुम्न आउनेमध्ये ८० स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले दृश्यावलोकन स्तम्भ निर्माणपछि अझ यो सङ्ख्या बढ्ने अनुमान गरिएको बताउनुभयो ।

यहाँ घुम्न आउने विदेशी पर्यटकमध्ये अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपेली देशका धेरै रहेका छन् । जाडो मौसम सुरु भएसँगै यतिबेला बन्दीपुरमा पर्यटकको भिड लागेको छ । 

बन्दीपुरमा अहिले हिमालय दरबार, ग्रीनपार्क, फेवा, गाउँ घर, वर्ल्ड इन, बन्दीपुर प्यालेस, मगर भिजेललगायतका साना र ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ । ती सबै होटलमा एकै पटक एक हजार तीन सयदेखि एक हजार चारसय पर्यटकले रात बिताउन सक्छन् ।

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घरहरु भएकाले पनि विदेशीहरु आकर्षित हुने गरेका छन् । यहाँ रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको व्यवसायीको भनाइ छ । 

पोखरादेखि ७४ किलोमिटर र काठमाण्डौदेखि एक सय ४२ किलोमिटरको दुरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमश्रृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया