धरान उपचुनाव: नेकपालाई ‘आफ्नै’ को डर, कांग्रेसलाई नयाँ मतदाताको ‘भर’ !

 मंसिर ८, २०७६ आइतबार १२:४१:१२ | सुमन पुरी
unn.prixa.net

सुनसरी – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार र प्रवक्ता विश्वप्रकाश शर्मा एक साताभित्रमा धरान आउनुभयो । यति मात्रै नभइ कांग्रेस नेताहरु शेखर कोइराला, महेश आचार्य, शशांक कोइरालाको पनि धरान आउने जाने क्रम चलिरहेको छ । 

नेकपाका नेता भीम आचार्य अहिले धरानमा केन्द्रित हुनुहुन्छ । यही मंसिर ११ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि यता आउने कार्यक्रम तय भएको छ । 

उपचुनावको मिति नजिकिँदै गर्दा नेताहरुको धरान मोह उति नै बढ्दै गइरहेको देखिन्छ । मंसिर १४ गते उपमहानगरको नेतृत्वका लागि देश भरमा धरानमा मात्रै चुनाव हुँदैछ । राजनीतिक दलहरुमा धरानमा कसले बाजी मार्ने भन्ने होडबाजी छ । 

दलहरुका बीचमा  मतदातालाई कसरी आफ्नो प्रभावमा पार्ने र मत आफ्नाे पक्षमा खसाउने भन्ने रस्साकस्सी धरानमा सुरु भइसकेको छ । 

मतदाता रिझाउन दलहरु यतिबेला सर्वसाधारणको घरदैलोमा मात्र नभएर धान काट्न र कोदो टिप्न व्यस्त मतदाताको खेतबारीसम्मै पुगिरहेका छन् । मतदाताकोमा पुग्दा दलहरुले उम्मेद्वारसँगै विकास र समृद्धिको पुलिन्दासमेत लिएर गएका छन् । 

२३ जनाको प्रतिस्पर्धा

धरान उपमहानगरपालिकाको मेयर बन्ने अपेक्षासहित २३ जना चुनावी मैदानमा छन् । चुनावी मैदानमा नेकपा र कांग्रेसबीच  प्रतिस्पर्धा भए पनि साना दल र स्वतन्त्र उम्मेद्वारको समेत चुनावी अभियानको रौनक कम भने छैन ।

अरुण पूर्वलाई लिम्बूवान प्रदेश बनाउनु पर्ने मागसहित आन्दोलनमा होमिएको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी पनि यतिखेर घरदैलो अभियानमा व्यस्त छ ।
पार्टीका मेयर पदका प्रत्याशी अमर इजम उपचुनावलाई लिएर आफू धेरै उत्साहित भएको बताउनुहुन्छ । धरानका नागरिकले इमान्दार र भ्रष्टचारविरोधी नेतृत्व चाहेकाले आप्mनो पक्षमा मत खस्ने उहाँको दावी छ ।

विकासको सपना 

धरानमा चलिरहेको चुनावी अभियानमा दलहरुले धरानको विकास र समृद्धि मुख्य एजेण्डा बनाएका छन् । यो बाहेक धरानको खानेपानी समस्या समाधान,  पाँचकन्या र विष्णुपादुका जोड्ने सडकको स्तरोन्नतिलाई आप्mनो प्रमुख एजेण्डा बनाएका छन् । 

नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले धरान उपमहानगरमा भइरहेको कर समस्या समाधान गर्न, भ्रष्टचारमुक्त नगर बनाउनका लागि  आप्mनो उम्मेद्वारी रहेको बताउनुभयो । उहाँले आप्mनो घोषणापत्रमा धरानको खानेपानीको समस्या समाधान गर्न र भौतिक पूर्वधार विकासमा आप्mनो ध्यान जाने उल्लेख गर्नुभएको छ । 

यस्तै नेकपाले धरानलाई पर्यटकीय नगरीको रुपमा विकास गरी पर्यटनबाट धरानको आर्थिक समृद्धि ल्याउने बताएको छ । 
चुनाव परिचालन कमिटीका सह–संयोजक मुरारी सुवेदीले धरानलाई शिक्षा र स्वास्थ्यको हबका रुपमा समेत विकास गर्न प्रकाश राईलाई धराने जनताले जिताउनु पर्ने बताउनुभयो । 

नेकपाका उम्मेद्वार प्रकाश राईले यसअघि नेकपा नेतृत्वले सुरु गरेका राम्रा काम पूरा गराउन पनि आफूलाई जिताउनु पर्ने बताउनुभयो । त्यस्तै समाजवादी पार्टीका उम्मेद्वार गजेन्द्र इश्वोले भने भ्रष्टाचारमुक्त नगर बनाउन आफू चुनावी मैदानमा होमिएको बताउनु भएको छ । 

त्यस्तै साझा पार्टीका उम्मेदवार राजनकुमार श्रेष्ठ पनि भ्रष्टाचारमुक्त धरान बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा हुनुहुन्छ । धरानमा रहेको बाँदर आतंक हटाउनेदेखि खानेपानी समस्याको दीर्घकालीन समाधानसम्मका प्रतिबद्धतासहित उहाँ प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ ।

यस्तो छ अंक गणित 

२०७४ सालको स्थानीय तहको चुनावमा तत्कालीन नेकपा एमालेका तारा सुब्बा धरानको मेयर पदमा विजयी हुनु भएको थियो । उहाँको निधन भएपछि माओवादीसँगको एकतापछि बनेको नेकपाले प्रकाश राईलाई चुनावी मैदानमा उतारेको छ । 

२०७४ सालको स्थानीय तहको चुनावमा एमालेले २० हजार ९ सय ७५ मत ल्याएको थियो भने एमालेसँग एकीकरण भएको तत्कालीन नेकपा माओवादीले ११ हजार १ सय ८० मत ल्याएको थियो । दुवै पार्टी एक भएकाले नेकपा यस पटक पनि धरानको मेयर पद जित्नेमा ढुक्क देखिन्छ । 

७४ सालको चुनावमा धरानमा ७९ हजार २ सय ८२ मतदाता थिए । त्यतिबेला पनि कांग्रेसका तर्फबाट तिलक राई नै उम्मेदवार हुनुहन्थ्यो । दुई वर्षपछि पनि धरानको मेयरको रुपमा तिलकलाई नै कांग्रेसले विश्वास गरेको छ । 

अघिल्लो चुनावमा १६ हजार एक सय २ मत ल्याउनु भएका राई थपिएका १३ हजार ५ सय ७१ मतदाताले आफूलाई भोट हाल्नेमा ढुक्क हुनुहुन्छ   । 

जातीय मतको बोलबाला 

२०७४ सालको स्थानीय तहको चुनावमा एमालेले तारा सुब्बालाई उम्मेद्वार बनाउनुको एउटा कारण जातीय प्रभाव हो भन्ने धेरै छन् । 

धरानमा राई र सुब्बाका बीचमा हुने प्रतिस्पर्धाले पनि दलहरुलाई उम्मेद्वार कुन जातिको बनाउने भन्ने समस्या देखिन्छ । यस पटक मुख्य दलका उम्मेद्वार राई नै भएकाले यस पटकको चुनावमा जातीय प्रभाव खास नपर्ने अड्कलहरु पनि काट्ने धेरै छन् । 

तर धरानको मत पार्टीको आस्थामा मात्रै भर पर्दैन । जातीय प्रभाव पनि धराने राजनीतिमा बढी नै देखिन्छ । यसले पनि धरानको मत कसको पक्षमा खस्छ भन्न गाह्रो छ । अघिल्लो चुनावमा माओवादीसँग सहकार्य गरेको संघीय समाजवादी फोरमको मत पनि राम्रो थियो । नयाँ शक्तिसँग एकता गरेर बनेको समाजवादी पार्टी पनि धरानको चुनावी मैदानमा छ । 

यस पटक पूर्व गोर्खा लाहुरे गजेन्द्र इस्वो समाजवादीको तर्फबाट चुनावी मैदानमा छन् । लाहुरेहरुको शहरको रुपमा परिचित धरानमा पूर्व गोर्खाहरुको हक हितमा लामो समय क्रियाशील गजेन्द्र इस्वोको समेत प्रभाव राम्रै छ । 

जातीयताको आधारमा मत खसे संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेद्वारले बाजी मारे पनि आश्चर्य नहुन सक्छ । 

गुटगत राजनीतिको त्रास  

माओवादी र एमालेबीचको एकीकरणले धरानमा नेकपा बलियो देखिए पनि  नेकपालाई आप्mनैको डर छ । गुटगत राजनीतिका कारण धोका होला कि भन्ने आशंकामा नेकपा रहेको देखिन्छ । 

पार्टी एक भए पनि भावनात्मक रुपमा एकता हुन नसकेको नेकपाकै कतिपय नेताहरु बताँउछन् । तर पछिल्लो समय पार्टी एक ढिक्का भएर अगाडि बढेको नेकपाका नेता मुक्साहाङ मेयाङ्बो दावी गर्नुहुन्छ ।

त्यसो त नेपाली कांग्रेसमा पनि धोकाधडीको त्रास छ । तर उम्मेदवार सर्वसम्मत रुपमै छानिएकाले पार्टी एक भएर चुनावी प्रचारमा लागेको कांग्रेसको दाबी छ ।  चुनावका बेला उम्मेदवार को बन्ने भन्ने विवाद कायम भइरहँदा सुरेन्द्र तामाङ र किशोर राई पछाडि हट्दै तिलक राईलाई सर्वसम्मत उम्मेदवार कांग्रेसले बनाएको छ । 

यसअघिका हरेकचुनावमा कम्युनिष्टको गढको रुपमा देखिएको धरानमा नेकपालाई आफ्नैबाट  डर देखिन्छ । यो बाहेक  स्थानीय तहमा दुई वर्षमा नेकपाले देखाएको  कार्यदक्षता र सेवा प्रवाहले पनि उसको मतको हिसाबकिताब हुने छ । कांग्रेसमा पनि गुटगत राजनीतिको छाँया देखिएकाले अहिले नै धरानको मेयर को बन्छ भन्नु हतारो हुने छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया