माैसम परिवर्तन : यी राेग लाग्लान्, यसरी बचाैँ

 मंसिर ८, २०७६ आइतबार १६:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले बिस्तारै जाडो बढ्ने क्रममा छ । मौसम परिर्वतनले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेकाे हुन्छ ।

माैसम परिवर्तनसँगै शारीरिक अवस्थामा पनि धेरै परिवर्तन भैरहेको हुन्छ । विशेषगरी यो मौसममा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी जस्ता सरुवा रोग लाग्ने सम्भावना उच्च रहन्छ । 

मौसम परिवर्तनको समयमा एक्कासी चिसो बढ्नुका साथै अत्याधिक प्रदूषण हुने भएकाले स्वास्थ्यमा देखापर्ने विभिन्न समस्या यही कारणले नै भएको हो भनेर यकिन गर्न कठिन हुन्छ । 

मौसम परिवर्तन भैरहेको समयमा जथाभाबी खाने र खानपानमा ध्यान नदिँदा बिरामी पर्नुका साथै अन्य इन्फेक्सन हुने सम्भावना पनि उत्तिकै हुन्छ । मौसम परिवर्तनको समयमा हाम्रो शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुन सक्छ ।

यो मौसममा भाइरल संक्रमण वा ब्याक्टेरियाको इन्फेक्सन भएमा के गर्ने ?

शरीर कमजोर हुने, खाना खान मन नलाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने जस्ता लक्षण देखा पर्छ । यस्ता लक्षणहरु एक दुई दिनसम्म देखियो भने भाइरल इन्फेक्सन भएको हुन सक्छ । 

सामान्यरुपमा लाग्ने मौसमी रुघाखोकीको वास्ता गरिएन भने भविष्यमा जटिल रुप लिन सक्छ । कुनै पनि रोगको पहिलो लक्षण रुघाखोकी हुन सक्छ । यदि रुघाखोकीको समयमै उपचार हुन सकेन भने घाँटी, फोक्सो, कलेजो, पेट र टाउकोमा इन्फेक्सन हुन्छ । 

यस्ता संक्रमणबाट बच्न वा उपचारका लागि सर्वप्रथम रोगको पहिचान गर्नुपर्छ । यस्तो समयमा ज्वरो, रुघाखोकी आएमा भाइरल संक्रमण हो वा अन्य कारणले भएको हो, यो पत्ता लगाउनुपर्छ । 

भाइरल संक्रमण भएमा घरमै प्रशस्त मात्रामा शुद्ध पानी पिउने, हरियो सागसब्जी, फलफूल खानुपर्छ । तर बयाक्टेरियल इन्फेक्सन भएमा, लामो समयसम्म ठिक नभएमा  चिकित्सकसँग परामर्श लिनुपर्छ ।  

बच्ने उपाय

यस्ता संक्रमित रोगहरु सजिलै खोकी र खकारको माध्यमबाट अन्य व्यक्तिमा सर्न सक्छ । त्यसैले भिडभाडबाट टाढा बस्ने, शुद्ध पानी प्रशस्त मात्रामा पिउने, स्वस्थ्य खाना खाने र माक्स लागाएर हिँड्ने बानीको विकास गर्नुपर्छ । 

यो मौसममा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले ज्येष्ठ नागरिक र  बालबालिकालाई संक्रमण छिट्टै हुने भएकाले ध्यान दिनुपर्छ । 

यस्ता समस्या हुनै नदिनका लागि अहिले बजारमा धेरै किसिमका भ्याक्सिन आइसकेका छन् । त्यस्ता भ्याक्सिनले रोगसँग लड्ने क्षमता बढाउँछ । साथै खानपिनमा पनि उत्तिकै ध्यान दिनुपर्छ । यस्ता रोगहरुलाई घरेलु खानपानले पनि कम गर्न सकिन्छ ।  

शारीरिक व्यायाम वा हरेक दिन बिहान आधा घण्टा हिँड्ने बानीले पनि यस्ता समस्याबाट बच्न सकिन्छ । साथै आरामको पनि उत्तिकै जरुरी हुन्छ । सामान्यतया एक व्यक्ति स्वस्थ्य हुनका लागि दैनिक ६ देखि ७ घण्टा सुत्नैपर्ने हुन्छ । 

(अल्का अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. प्रेम पाण्डेसँग साथी विना न्यौपानेले गरेको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया