'सीमा बचाऊ अभियान'ले सार्वजनिक गर्‍याे नेपालकाे नक्सा

 मंसिर ८, २०७६ आइतबार १७:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नागरिक समाजका तर्फबाट गठन गरिएको ‘सीमा बचाऊ’ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । 

रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी ‘सीमा बचाऊ’ अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो । 

नक्सा सार्वजनिक गर्दै अभियानका विज्ञ प्रा. डा. नरेन्द्रराज खनालले डिजिटल एलिभेसन मोडेलबाट नक्साको रेखांकन बताउनु भयो । नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रस्ट पारिएको उहाँले जानकारी दिनुभयो । 

सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जनाउनु भयो । 

नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो । सार्वजनिक गरिएको नक्सा सुगौली सन्धिअनुसारको छ ।’ भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएकाले नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उहाँको भनाइ थियो । 

नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको बताउनुभयो । पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउण्टर गर्न नक्सा सार्वजनिक गर्नुपर्ने र गरिएकोमा खुशी व्यक्त गर्नुभयो । 

त्यस्तै पूर्व सचिव तथा अभियानकर्ता डा. द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म पुर्‍याउने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Kamal Shrestha

    Nov. 25, 2019, 6:08 a.m.

    स्कुल पढदा कति बनाइयो कति नेपालको नक्सा (यो कुरो हो बिशेष गरि कक्षा ४ पछि बि सं २०२८ साल देखि २०३६ सम्म कहिले बनाउन सीइकाइएन र कतै त्यो चुच्चो भाग भएको नक्सा पनि देखियन, अब थाहा भयो झगडा नसुल्झेकै कारण त्यो भूभाग नेपालको हुँदा हुँदै पनि नक्सामा नदेखाइएको रहेछ वा कसैको मिलेमतोमै त्यसो भयको ???) भूगोल पढाउने शिक्षकलाई समेत थाहा थिएन रहेछ, त्यो लामो चुच्चो, महाकालीको मुहान लिम्पिया धुरा पनि नेपाल हो भनेर, अन्यथा हामीले बनाउंदै आएको नक्सा त्यस्तो गलत हुँदा पनि कहिँ कतै कुनै पनि शिक्षक ले सच्च्याउनु भयान, नोवेम्बेर १ मा इण्डिया ले सार्बजनिक नगरेको भय हामी सबै अनभिज्ञ नै रहने रहेछौं ।

  •  0 Reply

तपाईको प्रतिक्रिया