एन्फाकाे कारबाहीमा परेका विमल, अन्जन र दिनेशकाे ठाउँमा सागका लागि तीन नयाँ खेलाडी

 मंसिर ८, २०७६ आइतबार २०:४५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल संघ एन्फाले कारबाही गरेका चार खेलाडीमामध्ये आसन्न दक्षिण एसियाली खेलकुद सागको टिममा परेका तीन खेलाडीलाई प्रतिस्थापन गरिएको छ ।

सागका लागि टिममा अञ्जन विष्ट, विमल घर्तिमगर र दिनेश राजवंशी टिममा परेका थिए । उनीहरुको स्थानमा राजेश परियार, प्रिजन तामाङ, राजिब लोप्चाङलाई टिममा बोलाइएको छ ।

कुवेतविरुद्धको खेलका लागि भुटान जानुभन्दा ठिक अघिल्लो दिन विमल, अञ्जन र दिनेशले रातभर क्लबमा बिताएको भन्दै कारबाहीस्वरुप टिमबाट हटाइएको थियो । त्यसपछि सागका लागि उनीहरुका बारेमा के हुन्छ भन्ने चर्चा भइरहेका बेला टिमका प्रशिक्षक बालगोपाल महर्जनले टिममा रहेका तीन खेलाडीको स्थानमा राजेश परियार, प्रिजन तामाङ र राजिव लोप्चाङलाई बोलाएको बताउनुभयाे । तर यस विषयमा एन्फाले भने आधिकारिक धारणा निकालेको छैन ।

टिममा तीन जना बोलाएसँगै विमल, अञ्जन र दिनेशले साग खेल्न नपाउने भएका छन् । उनीहरु यतिबेला अनुशासन समितिको कारबाहीमा छन् । यसका साथै उनीहरुमाथि म्याच फिक्सिङका विषयमा पनि अनुसन्धान भइरहेको बताइएको छ । फिफाले नै कुवेतविरुद्धको खेलको १५ दिन अगाडि एन्फाका इन्टिग्रेटेड अफिसरलाई पत्र पठाएको थियो ।

तर त्यति बेला सामान्य रुपमा लिइए पनि पछिल्लो पटकको व्यवहारले उनीहरु यो शंकाको घेरामा परेका हुन् । भुटानमा भएको विश्वकप छनोटको दोस्रो चरणको खेलमा पनि कुवेतले थिम्पु रंगशालामा सबै टिकट किनेर भुटानीलाई दिने प्रयास गरेको थियो । तर अन्तर्राष्ट्रिय मान्यता अनुसार पाहुना टिमले केही प्रतिशत मात्र टिकट खरिद गर्न पाउने नियम भएकाले उनीहरु पछि परेका थिए ।

नेपाल र भुटानमा खेल्न नचाहने कुवेतले खेललाई आफ्नो पक्षमा पार्न जे पनि गर्न सक्ने आंशकका कारण कतै त्यो जालमा उनीहरु पनि परेका छन् वा छैनन् भन्ने अनुसन्धान भइरहेको छ । जसका लागि उनीहरुको बयान लिइएको छ भने सबै तथ्यहरुको खोजी भइरहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया