बुटवल-नारायणगढ सडक चार लेन बनाउने काममा तीव्रता !

 मंसिर ९, २०७६ सोमबार १५:१८:४२ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – रुख कटानको स्वीकृति पाएपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड ४ लेनमा विस्तारको काम अघि बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालको चैत ८ गते बुटवलमा आयोजनाको शिलान्यास गरे पनि रुख कटानको स्वीकृति नपाउँदा आयोजना सुरु हुन सकेको थिएन । तर दुई हप्तायता आयोजनाको काम अघि बढेको आयोजनाको पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । 

रुख कटानका लागि मन्त्रालयको स्वीकृति

१ सय १३ किलोमिटर लामो नारायणगढ-बुटवल सडक ४ लेनमा विस्तार गर्ने काम योजनाअनुसार गएको चैतमै सुरु हुनुपर्ने थियो । शहरी क्षेत्रमा ६ लेन र जंगली क्षेत्रमा ४ लेन चौडा हुने सडकको लागि लगानी र ठेकेदारको टुंगो लागिसकेको थियो । तर आयोजनाको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सनले काम सुरु गर्न खोज्दा रुखको विवाद आयो । आयोजनाको लागि गरिएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)मा ९ हजार मात्रै रुख काट्नुपर्ने देखिएको थयो । 

तर फिल्डमा गएर हेर्दा काट्नुपर्ने रुखको संख्या ५० हजारभन्दा धेरै देखिएपछि काम रोकिएको थियो । ईआईएमा उल्लेख भएभन्दा ५ गुणा धेरै रुख काट्नुपर्ने भएपछि सडक विस्तार आयोजनाले ईआईए पुनर्मूल्यांकन गरेर वन तथा वातावरण मन्त्रालयमा पठाएको थियो ।

प्रधानमन्त्रीले नै शिलान्यास गरेको आयोजनाको काम रुखका कारण रोकिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो दिएको दियो । त्यसपछि आयोजनाका लागि चाहिने रुख कटानको लागि मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्को निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयले कात्तिक १९ गते रुख कटानको स्वीकृति दिएपछि भने निर्माण कार्यले गति लिएको छ । ‘अहिले गैँडाकोटको थुम्सीबाट रुखमा टाँचा लगाउने काम भैरहेको छ, सम्भवतः यो हप्तामा रुखमा टाँचा लगाउने काम सकिन्छ होला, त्यसपछि रुख कटानको काम सुरु भैहाल्छ, आयोजना ढिलाइ हुँदैन’, आयोजनाको पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

२ किलोमिटर क्षेत्रमा ‘क्लियरेन्स’को काम सकियो

आयोजनाको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सनले २ किलोमिटर क्षेत्रमा सडक क्लियरेन्स सम्पन्न गरेको छ । गैंडाकोटबाट ३० किलोमिटर परको कावासोती आसपासको दुई किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ सडक खनेर माटो भर्ने काम सकिएको आयोजनाले जनाएको छ । 

‘दुई किलोमिटर क्षेत्रमा कल्भर्ट बनाउने र होचो ठाउँमा माटो हालेर पुर्ने काम सकिएको छ’, आयोजना प्रमुख अधिकारीले भन्नुभयो । 

अब कामले गति लिने, ठेकेदारका सामग्री कोलकाता आइपुगे

गएको पुसमा नै सडक निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियाे । आयोजनाको शिलान्यास चैतमा भयो । शिलान्यापछि कामले गति लिने अपेक्षा गरिए पनि रुखको विवादका कारण काम सुरु नै हुन सकेन । तर  अब ५० हजार रुख कटानको स्वीकृति पाएसँगै कामले तीव्रता पाउने आयोजनाले जनाएको छ । 

‘हामीले रुख कटानको स्वीकृति पनि पाइसक्यौँ, अरु सानातिना समस्या पनि समाधान भए, ठेकेदारले ठूला उपकरण पनि यसै हप्ता ल्याउँदैछन्, अब कामले तीव्रता पाउँछ’ आयोजनाको पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले भन्नुभयो ।

निर्माण सामग्री भण्डार र परीक्षणको काम पनि भैरहेको आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो । 

निर्माण कम्पनीले ६० वटा ठूला उपकरण पाकिस्तान हुँदै कोलकाता आइसकेका जनाएको छ । यही हप्तामा कोलकत्ताबाट भैरहवा नाका हुँदै नेपाल आइपुग्ने र काम फटाफट हुने ठेकेदार कम्पनीको भनाइ छ ।  अहिले नेपालमा प्रयोग भैरहेकाभन्दा ठूला र अत्याधुनिक उपकरण आएकाले काम छिटो हुने ठेकेदारको दाबी रहेको आयोजनाले जनाएको छ । आयोजनाका लागि यसअघि नै क्रसर  र  प्याचिङ प्लान्ट स्थापना भैसकेको छ । 

मुआब्जाको समस्या छैन, बिजुलीका खम्बा सार्न प्राधिकरणसँग सहकार्य

बुटवल-नारायणगढ सडक खण्डमा मुआब्जाको समस्या नरहेको आयोजनाले जनाएको छ । सडक विभागकै जग्गा भएकाले धेरै यो सडक विस्तारका लागि जग्ग्गा विवाद नरहेको आयोजनाले जनाएको छ ।

‘सडकबाट दायाँ ३१ र बायाँ ३१ मिटर जग्गा सडक विभागकै हो, त्यसैले त्यो रुटमा मुआब्जा दिएर सडक बनाउनुपर्ने अवस्था छैन, पुलको छेउछाउमा केही समस्या आउन सक्छ, त्यो पनि सजिलै समाधान गर्न सकिन्छ’ सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले उज्यालोसँग भन्नुभयो । 

तर बिजुलीका खम्बा सार्न भने समस्या देखिएको छ । बिजुलीका खम्बा सार्न विद्युत प्राधिकरणसँग सहकार्य गरिरहे पनि ठ्याक्कै समाधानमा नपुगेको सडक विभागको भनाइ छ । 

‘उहाँले त्यो क्षेत्रमा केही समयअघि मात्रै नयाँ पोल गाड्नुभएको रहेछ, तर ती सबै पोल सार्नुपर्नेछ, काम लाग्ने पोल फेरि प्रयोग गर्नेगरी प्राधिकरणसँग सहकार्य गर्छौँ’, विभागका उपमहानिर्देशक सापकोटाले भन्नुभयो । 

यस्तो हुनेछ बुटवल-नारायणगढ सडक

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ १ सय १३ किलोमिटर लामो सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी)ले सहुलियतपूर्ण ऋण दिएको छ । १६ अर्ब ९९ करोड रुपैयाँ लागतको सडकको लागि एडीबीले ८५ प्रतिशत रकम ऋण दिएको छ । ऋण नेपालले ३२ वर्षमा तिर्नुपर्नेछ, ऋणको ब्याज जम्मा १ दशमलव ५ प्रतिशत मात्रै रहेको छ । 

बुटवल-नारायणगढ सडकलाई दुई भागमा बाँडेर काम हुँदैछ । पूर्वी खण्डअन्तर्गत गैँडाकोट-दाउन्ने भागको साढे ६४ किलोमिटर सडकको लागि ९ अर्ब १३ करोड १८ लाख र पश्चिमी खण्ड दाउन्ने-वुटबल साढे ४८ किलोमिटर सडकको लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सनले ठेक्का पाएको छ । 

ठेक्का सम्झौता भएको मिति २०७५ सालको पुसदेखि साढे ३ वर्षभित्र आयोजनाको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक निर्माण सम्पन्न भएको साढे ५ वर्षसम्म पनि ठेकेदार कम्पनीले नै सडकको मर्मत सम्भारको काम गर्नुपर्ने सम्झौता भएको छ । 

सडकको मापदण्ड ४ लेनको भए पनि ठाउँ हेरेर ६ लेन र ३ लेनको पनि हुनेछ । शहरी क्षेत्रमा सर्भिस ट्रयाकसहित ६ लेनको सडक हुनेछ । जंगली क्षेत्रमा ४ लेनको हुनेछ, तर दाउन्नेको उकालोको झण्डै ४ किलोमिटर क्षेत्रमा भने भौगोलिक अवस्थाको कारण ३ लेनको मात्रै सडक हुनेछ । 

सबैजसो सडकको बीचमा डिभाइडर हुने भएकाले यो सडकमा गुड्ने गाडीले कमै मात्रै अवरोधको सामना गर्नुपर्नेछ । 

सडकको बीचमा रुख रोप्न र बगैँचा बनाउन हरियाली क्षेत्र बनाइनेछ । जहाँ विभिन्न कम्पनीलाई जिम्मा दिएर बाह्रैमास रुख बिरुवा र बगैँचाको हेरचाह गरिने आयोजनाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • Kishan

    Nov. 27, 2019, 3:08 p.m.

    कुनैपनी ठाउँको सडक स्तरोन्नती गर्दा भईराखेको सडकलाई तत्कालको लागि यथावत राखी, नयाँ बनाउनुपर्ने सडकको दाँया-बाँयाको भाग बनाइसकेर तेसबाट आस्थाइ रूपमा सवारी चलाउन दियर, पुरानो सडक भत्काएमा सवारी आवागमनमा समस्या हुँदैन थियो होला। यहाँ त भएभरको बाटो सबै एकैपटक भात्कायो अनी निर्माणमा ढिला सुस्ती गर्ने, जनतालाई धुलो र परेसानी अनी ढुख दिने काम मात्रै हुन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया