गुडिरहेको बस बीच बाटाेमा भासिएपछि सडकमै रोपियो रुख

 साउन २, २०७५ बुधबार १७:३३:४२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा चारलेन सडक निर्माण सम्पन्न भएको लामो समय बिते पनि निर्माण कम्पनीको लापरबाहीका कारण बारम्बार दुर्घटनाहरु हुने गरेका छन् ।

बुधबार गुडिरहेको यात्रुबाहक बस विपीचोक नजिकै सडकमै भास्सिएको छ । बीच सडकमा यात्रुबाहक बस भास्सिएपछि बीच सडकमै विरुवा रोपिएको छ । 
खाल्डाखुल्डी भएका कारण बिहान सडकमा टायर राखेर गाडी नल्याउन संकेत गरिएको थियो । दिउँसो टायर हटाइएपछि बस दुर्घटना भएको हो ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डांगीका अनुसार सडकमा फसेको बस  नेपालगञ्ज उप–महानगरपालिकाको ट्याक्टरले निकालेको हो । बस भित्रका यात्रुहरु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

भारतीय सीमाको जमुनाहदेखि कोहलपुरसम्मको २२.२२५ किलोमिटर सडक मध्ये नेपालगञ्जको सडक बारम्बार बिग्रने गरेको छ । नेपालगन्ज–कोहलपुर सडकखण्ड दुई भागमा निर्माण गरिएको हो । जमुनाहदेखि राझासम्मको १०.५ किलोमिटर सडकको ठेक्का  एएमआर पप्पु कन्स्ट्रक्सन जेभीले  २९ मार्च २०१३ मा  २ जुन २०१५ मा निर्माण सक्ने गरी  ४५ करोड ८ लाख ७९ हजार २०० रुपैयाँमा ठेक्का पाएको हो । 

पटक–पटक म्याद थप गर्दै लागत बढाइए पनि सडकमा ठाउँ–ठाउँमा खाल्डाखुल्डी हुँदा चारलेन सडकमा आवागमनमा समस्या हुने गरेको छ । नेपालगन्ज–राझाखण्ड निर्माणमा ढिलाई भयो पनि राझा कोहलपुर सडकखण्ड भने ठेकेदार कम्पनीले सम्झौता अवधिभन्दा पहिले नै काम सम्पन्न गरेको हो । कालिका कन्स्ट्रक्सनले  ४६ करोड ४१ लाख ४० हजार रुपयाँमा २९ मार्च २०१३ मा  २६ अप्रिल २०१५  मा निर्माण सक्ने गरी सम्झौता गरेको हो ।

२६ अप्रिल २०१३ मा काम सुरु गरेको कालिकाले तोकिएको समयभन्दा अगावै १६ सेप्टेम्बर २०१४ मा काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिई बमले जानकारी दिनुभयो ।  ११.२२४ किलोमिटर सडक निर्माण गरेको कालिकाको अन्तिम लागत ५६ करोड ५६ लाख २९ हजार रुपैयाँ पुगेको थियो । 

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख अर्जूनकुमार बमले पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको सडक हस्तान्तरण भईनसकेको बताउनुभयो । रकम भुक्तानीका लागि पप्पु्ले अदालतमा मुद्दा समेत दायर गरेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

1 Comments

  • म नेपाली

    July 18, 2018, 6:49 p.m.

    नेपालगञ्जमा चारलेन सडक निर्माण सम्पन्न भएको लामो समय बिते पनि निर्माण कम्पनीको लापरबाहीका कारण बारम्बार दुर्घटनाहरु हुने गरेका कुरामा म सहमत छु। तर बनेको सडकमा खाने पानीको पाईप फुट्दा खनिएका खाल्डा मर्मत नहुदा अझ बढी खतरा बढेको छ । बुधबारको घटना पनी यसैको उदाहरण हो । पाईप फुटे पछि सडक उप्कीदा खाल्डो परेको थियो । सो पाईप मर्मतका लागी डोजर लगाएर खाल्डो खनी पाईप मर्मत गरिएको थियो । ठुलो खाल्डो लाई देखाउन कै लागी साधारण तरिकाले माटोले मात्र पुरिदा यो दुर्घटना भएको हो । समाचार सन्तुलित लेख्नु पर्यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया