सागमा स्वर्ण पदक जित्दै इतिहास रच्ने दाउमा महिला भलिबल टाेली

 मंसिर १०, २०७६ मंगलबार १६:३८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ औंँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबारदेखि भलिबलको खेल सुरु हुँदैछन् ।

सागको औपचारिक उद्घाटन यही मंसिर १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भए पनि भालिबल खेल भने बुधबारदेखि नै सुरु हुने तालिका छ। सागमा नेपालसहित सातवटा देशले भाग लिँदैछन् । तर भलिबलमा ६ देशले भाग लिनेछन् । साग खेल्ने देशमध्ये भुटानको भने अहिलेसम्म भलिबल टिम छैन । 

भलिबलमा नेपालको महिला र पुरुष दुवै समूहमा भारत र बंगलादेश रहेका छन् । बुधबार दिउँसो तीन बजे सागको भलिबल तर्फको महिलाको उद्घाटन खेल हुने छ । जसमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाली महिला टिमले २ साता अघि सोझो सेटमै बंगलादेशको घरेलु भूमिमा हराएकाले उच्च मनोबलका साथ कोर्टमा उत्रनेछ ।

नेपाली महिला टिम सागमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ अहिले तयारीमा रहेको छ । नेपाली टिमकी कप्तान अरुणा शाहीले यस पटक घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको बताइन् । उनले सबै प्रतिस्पर्धी उस्तै भए पनि पछिल्लो समय आफूहरुले वैदेशिक प्रशिक्षण पाएको र बंगलादेशमा भएको सेन्ट्रल जोनको प्रदर्शनले टिममा धेरै  उर्जा थपिएको विश्वास व्यक्त गरिन् ।

यस्तै प्रशिक्षक जगदीश भट्टले नेपाली महिला भलिबल टिम स्वर्ण पदकको प्रबल दावेदार रहेको बताउँदै त्यसै अनुसार तयारी गरिएको बताउनुभयाे । उहाँले नेपालले भारत र श्रीलंकालाई हराउँदै इतिहास रच्ने लक्ष्यमा नेपाली टिम दिनरात लागिपरेको पनि बताउनुभयाे ।

प्रतियाेगिता अन्तर्गत बुधबार अपराह्न पाँच बजे पाकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै बिहीबार अपराह्न ५ बजे नै नेपाली महिला टिमले भारतसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै राति सात बजे श्रीलंका र पाकिस्तान खेल्नेछन् । शुक्रबार एक बजे भारत र बंगलादेश तथा दिउँसो तीन बजे श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछन् ।

यसैगरी, पुरुष तर्फको पहिलो खेल राति सात बजे हुनेछ जसमा नेपालले बुधबार बंगलादेशसँग खेल्ने छ । बिहीबार दिउँसो १ बजे पाकिस्तान र माल्दिभ्स तथाृ दिउँसो ३ बजे भारत र बंगलादेशले खेल्नेछन् । 

नेपाली पुरुष टिमले समूह चरणको अन्तिम खेल शुक्रबार अपराह्न ५ बजे भारतसँग खेल्नेछ । त्यसै दिन राति सात बजे श्रीलंका र माल्दिभ्स खेल्नेछन् ।समूह चरणको अन्तिम खेलमा शनिबार दिउँसो ३ बजे श्रीलंका र पाकिस्तान खेल्नेछन् ।

समूह चरणका शीर्ष २ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनलबाट फाइनलमा पुगेका दुई टिमले स्वर्ण र रजत पदकका लागि प्रतिस्पर्धा गर्दा पराजित हुने २ टिमले कास्य पदकका लागि खेल्नेछन् । भलिबलको फाइनल खेल मंसिर १७ गते हुने छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया