मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने

 साउन २, २०७५ बुधबार १८:५:२५ | रासस

काठमाडौं – सरकारले मानव अधिकार आयोगकोे सिफारिसमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारलाई क्षतिपूर्ति दिने भएको छ । 

वि.स. २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई ७५ लाख १४ हजार ९०० रुपैयाँ क्षतिपूर्ति दिने निर्णय सरकारबाट भएपछि पीडित परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । 

मन्त्रिपरिषद्को गएको असार २४ गतेको बैठकले यस्तो निर्णय गरेको थियो। पीडितले क्षतिपूर्ति रकम जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पाउनेछन् । 

मानव अधिकार हननसम्बन्धी घटनामा क्षतिपूर्ति पाउनेहरुमा मृतक रसुवा लहरेपौवा–२ का अर्जुन लामिछाने, समरथली–७ रसुवाका लीलामाया तामाङ र समरथलीकै–७ का वीरबहादुर तामाङ, ललितपुर माल्टा–२ का शुकबहादुर थिङ र भीमबहादुर बोम्जन, नुवाकोट शिखरबेंसी–६ का चतुरनारायण योगी र कैलाली दरम–२ मा खुशीराम चौधरीका परिवारले तीन लाख रुपैयाँका दरले क्षतिपूर्ति पाउने भएका हुन् । 

कैलाली रतनपुर–५ घटनामा घाइते भएकामध्ये रमदैया चौधरीलाई तीन लाख, माधुरी चौधरीलाई तीन लाख, अलिसा चौधरीलाई दुई लाख ५० हजार, रुपादेवी चौधरीलाई दुई लाख ५० हजार र अमिसा चौधरीलाई तीन लाख र प्रदेश चौधरीलाई दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति सरकारले दिनेछ । 

गैरकानूनीमा थुनामा परेका व्यक्ति काठमाडौँ नाङ्लेभारेका घनश्याम बस्ताकोटीलाई १० हजार ५ सय रुपैयाँ, कैलाली फूलबारी–६ का तीर्थराज पौडेललाई १० हजार रुपैयाँ र जुम्ला महतगाउँका क्षेत्रबहादुर महतलाई एक लाख ४४ हजार रुपैयाँ क्षतिपूर्ति सरकारले दिने भएको छ । 

बेपत्ता पारिएका व्यक्तिहरु कञ्चनपुर श्रीपुर–२ का छोटेलाल चौधरी, नाथुराम चौधरी र जंगबहादुर चौधरीका परिवारले रु तीन लाखका दरले क्षतिपूर्ति पाउने छन् । त्यसैगरी, बेपत्ता पारिएका व्यक्ति कैलाली रतनपुर–५ का धरमपाल चौधरीको परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने छ । 

घाइते बझाङ चैनपुर–८ का राजन रजकलाई तीन लाख र लोकेश हमाललाई दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिइने छ । घाइते तथा अशक्त कैलाली मालाखेती–३ का तेजबहादुर साउदलाई दुई लाख, कैलाली भजनी–३ का भुवनराज न्यौपानेलाई तीन लाख र कञ्चनपुर देखतभुली–८ का भीमबहादुर विष्टलाई तीन लाख रुपैयाँ दिइने छ । 

यातनापीडित नुवाकोटका लक्ष्मण न्यौपानेलाई ७५ हजार रुपैयाँ दिइने छ भने अरुणोदय–९ तनहुँका झकबहादुर कुमाल र नेत्रबहादुर कुमाललाई जनही एक लाख रुपैयाँ दिइने छ । अन्य यातानापीडितमध्ये नेउलापुर–५ बर्दियाका विष्णुवन सन्न्यासीलाई एक लाख, हसुलिया–१ कैलालीका भीमबहादुर कोलीलाई एक लाख ७५ हजार रुपैयाँ दिइने छ । नुवाकोट कुमरी–२ का यातना पीडित दामोदरप्रसाद गौतमलाई क्षतिपूर्तिबापत एक लाख रुपैयाँ दिइने छ । 

मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले पीडित परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णयलाई आयोगले सकारात्मक रुपमा लिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पीडितलाई क्षतिपूर्ति दिने सरकारको निर्णय स्वागतयोग्य छ । दोषीलाई कारबाही गर्ने कामलाई पनि सरकारले गम्भीर रुपमा लिए प्रभावकारी हुन्छ ।’ 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया