कास्की २ मा नेकपा र प्रतिपक्षकाे शक्ति परीक्षण !

 मंसिर ११, २०७६ बुधबार १२:५९:२३ | सुमन गुरुङ
unn.prixa.net

कास्की - कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने प्रतिनिधि सभाको उपचुनावमा दलहरु आफ्नो प्रतिष्ठा जोगाउने कसरतमा लागेका छन् । खासगरी सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस खरो प्रतिस्पर्धामा उत्रिएका छन् ।

सत्तारुढ दल आफ्नो विरासत जोगाउन लागेको छ भने प्रमुख प्रतिपक्ष दल अघिल्ला चुनावको हारलाई उछिन्दै २०५६ सालको स्थितिमा आफूलाई पुर्‍याउने दाउमा छ । २०५६ सालको प्रतिनिधिसभा चुनावमा यहाँबाट कांग्रेस नेता महादेव गुरुङ विजयी हुनुभएको थियो भने त्यसपछिको चुनावमा लगातार तत्कालीन एमाले नेता रवीन्द्र अधिकारी विजयी हुँदै आउनुभएको थियो ।

यसपटकको उपचुनावमा अधिकारीको पत्नी विद्या भट्टराई र कांग्रेसका पाका नेता खेमराज पौडेल चुनावी मैदानमा उत्रिएका छन् । यसअघिको चुनावमा तत्कालीन एमालेका उमेद्वार रवीन्द्र अधिकारी नेपाली कांग्रेसका उम्मेद्वारलाई ८ हजार पाँच सय मतको अन्तरले हराउँदै विजयी हुनुभएको थियो ।

२०७४ सालको चुनावमा अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गर्नुभएको थियो भने नेपाली कांग्रेसका देवराज चालिसले १८  हजार ६ सय ६१ मत प्राप्त गर्नुभएको थियो ।

अघिल्लो चुनावमा ७० हजार ६ सय ५१ जना मतदाता रहेका थिए । हाल ७१ हजार ८ सय ७१ मतदाता रहेका छन् ।

प्रमुख प्रतिस्पर्धीको रुपमा रहेका दुवै दलले जित्ने दाबी गरेका छन् । नेकपाले राजनीतिक स्थायित्वलाई पहिलो प्राथमिकतामा राखेको छ । समृद्धिका लागि प्रमुख मानिने विकास निर्माण, भौतिक संरचनामा ध्यान दिने बताउँदै आएको छ । रवीन्द्र अधिकारीले सधैँ देख्ने सपना पोखरालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न पोखरा विमानस्थल बनाउनुपर्छ भनिरहने हुँदा नेकपाले पोखरा क्षेत्रीय विमानस्थल सम्पन्न गर्ने अठोट पनि लिएको छ । नेकपाका उम्मेदवार भट्टराईले आफूले जितेमा तोकिएको समय सीमाभित्र नै विमानस्थलको काम सक्ने बताउनुभयो ।

नागरिकसँग सहकार्य र सरकारसँग समन्वयन गरेर विकास निर्माणको काम अगाडि बढाउने उहाँको भनाई छ । संविधानको कार्यान्वयनको काममा लाग्ने नेकपाको अर्को एजेण्डा छ ।

विद्याले रवीन्द्र अधिकारीको भन्दा ५ हजार मत प्राप्त गरी १३ हजाभन्दा बढीले चुनाव जित्ने नेकपाले दाबी गरेको छ । तर नेपाली कांग्रेसले भने अहिलेको सरकार नागरिकको बीचमा अलोकप्रिय हुँदै गएकोले परिणाम आफ्नो पक्षमा आउने दाबी गरेको छ । कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा जित हात पार्दै सरकारलाई सच्चिने अवसर दिने दाबी गरेकाे छ ।

कास्कीको चुनावी कमाण्डरसमेत रहेका कांग्रेसका जिल्ला सभापति कृष्ण केसी कुनै समय कांग्रेसका महादेव गुरुङले जितेको क्षेत्रमा तीन पटकसम्म एमालेले जितेको भए पनि हाल यो परिस्थिति नभएकोले विगतको परिमाणलाई कांग्रेसले उल्ट्याएर परिणाम आफ्नो पक्षमा पार्ने दाबी गर्नहुन्छ ।

नेपाली कांग्रेसले उम्मेदवार बनाएको खेमराज पौडेललाई पुराना, ईमान्दार, निष्ठावान तथा त्यागि नेताको रुपमा चिनिन्छ । कांग्रेसका उम्मेदवार पौडेलले आफूले जितेमा सरकारको पछिल्लो गतिविधिको खबरदारी गर्ने बताउनुभयो । पोखराको पर्यटन क्षेत्रमा काम गर्ने पनि उहाँको भनाइ छ ।

कास्कीको पोखरा महानगरको ११ वडा रहेको क्षेत्र नम्बर २ मा ८ वटा वडा तत्कालीन एमालेले जितेको हो भने बाँकी ३ वडा नेपाली कांग्रेसले जितेका छन् । कास्की २ लाई आफ्नो भागमा पार्न कसरत गर्ने पार्टीमध्येमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी पनि अग्र पंक्तिमा पर्छ ।

साझाले २ महिनाअघि मात्रै प्रमुख प्रतिपक्ष कांग्रेस छोडेर पार्टी प्रवेश गरेकी रजनी केसीलाई साझाले उम्मेदवार बनाएको छ । विगतलाई हेर्ने हो भने पनि तत्कालीन विवेकशील साझाका उम्मेदवार श्रीकृष्ण श्रेष्ठ ८ सय ४३ मतको साथ तेश्रो ठूलो पार्टी बनेको क्षेत्र हो । यद्यपि त्यसबेलाको विवेकशील साझा फुटेर साझा पार्टी बनेको हो ।

कास्कीमा समाजवादी पार्टीले पनि चुनावी प्रचार तीव्र पारेको छ । समाजवादीले धर्मराज गुरुङलाई उम्मेदवारको रुपमा उठाएको छ । आफूलाई वैकल्पिक शक्तिको रुपमा दाबी गर्दै आएको समाजवादी पार्टीले इन्जिनियर र भूतपूर्व सैनिकलाई चुनावी मैदानमा उतारेको हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रोमबहादुर भण्डारी प्रतिस्पर्धामा हुनुहुन्छ । भण्डारी पोखरा महानगरपालिका १५ का पुराना नेता हुनुहुन्छ । सबै दल र उम्मेदवार दिनहुँ चुनावी प्रचारमा व्यस्त छन् ।

युवाहरुले स्थापना गरेको विवेकशील नेपाल दलले स्वतन्त्र रुपमा उम्मेदवार बनाएको जमुना शर्माले पनि प्रचार तीव्र पार्नुभएको छ । अरु उम्मेदवार पनि दौडधुपमा छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया