बैंकबाट ऋण लिँदै हुनुहुन्छ ? यी उपाय अपनाउँदा डुब्ने खतरा कम हुन्छ

 मंसिर १२, २०७६ बिहिबार ९:१६:१९ | निरज लम्साल
unn.prixa.net

व्यवसायको लागि ऋण चाहिन्छ । ऋण नलिइकन व्यवसायी नै हुँदैनन् जस्तो लाग्छ । 

व्यवसायीले ऋण लिनुअघि र लिइसकेपछि धेरै कुरामा विचार पुर्‍याउनुपर्छ । व्यवसायिक योजना बनाउने, योजनाअनुसार ऋण लिने र वित्तीय अनुशासन पालना गर्दै ऋण तिर्ने हो भने उ कहिल्यै डुब्दैन । सफल हुन्छ । सबैभन्दा ठूलो कुरा इमान्दारिता हो । ऋणको सदुपयोग गर्न जान्नुपर्छ ।

ऋण लिनुअघि

सबैभन्दा पहिले आफ्नो व्यवसायिक योजना तयार पार्नुपर्छ । कुन व्यवसाय गर्ने, कति कामदार हुन्छन्, खर्च कति लाग्छ लगायतका कुरामा पहिल्यै प्रष्ट हुनुपर्छ । ऋण लिएर के के कुरामा सम्भावित खर्च हुनसक्छ भन्ने पनि थाहा पाउनुपर्छ । ऋण लिएको पैसा व्यवसायमा लगानी गर्दा मासिक आम्दानी कति हुन्छ भन्ने अनुमान पनि गर्नुपर्छ । ऋण कति लिने, कहाँबाट लिने, पैसा कसरी तिर्ने लगायतका योजना पनि पहिल्यै तयार पार्नुपर्छ ।

बैंकको छनोट गरेपछि ऋण लिने प्रक्रिया कति छिटो र सजिलो छ, ब्याज कति छ लगायतका कुरा पनि बुझ्नुपर्छ । कति र के सम्पत्ति धितो राख्नुपर्छ, आफूसँग छ कि छैन भनेर लेखाजोखा गर्नुपर्छ । ऋणको किस्ता, साँवा, ब्याज कहिले र कति तिर्नुपर्छ भन्ने कुरामा प्रष्ट हुनुपर्छ ।

ऋण सानो पनि हुन्छ, ठूलो पनि । सहुलियत ऋण पनि छ । महिला, कृषि, विदेशबाट फर्किएकालाई, शैक्षिक कर्जा, भूकम्प पीडित लगायतमा सरकारले सहुलियत ऋण दिन्छ । 

ऋणको बारेमा प्रष्ट भैसकेपछि तपाईँले बैंकलाई आफ्नो व्यवसायिक योजना बुझाउनुहुन्छ । तपाईँको योजना हेरिसकेपछि बैंकले तपाईंको कमाइ र तिर्न सक्ने क्षमता के कति छ भनेर हेर्छ । बैंकलाई तिर्न पुग्छ कि पुग्दैन भन्ने कुरा बैंकले बुझ्छ ।

तपाईंको आवश्यक कागजत दिएपछि ७ देखि १० दिनभित्र बैंकले ऋण दिन्छ ।

ऋण लिएपछि

सबैभन्दा पहिले त तपाईँलाई जति आवश्यक हो, त्यति मात्रै ऋण लिनुहोस् । चाहिएकोभन्दा बढी ऋण नलिनुहोस् । लगानी गरेपछि फाइदा नहुने कुराको लागि ऋण नलिनुहोस् । बैंक यस्तो साथी हो कि तपाईँ सफल हुँदा या असफल हुँदा, जस्तो अवस्थामा पनि बैंकले साथ दिन्छ ।

तर ऋणको सदुपयोग गर्न जान्नुपर्छ । जे को लागि ऋण लिएको हो, त्यसकै लागि मात्र त्यसको उपयोग गर्नुपर्छ । व्यापार देखाएर कर्जा लिने अनि घर बनाउने र गाडी किन्नेहरु पनि छन् । त्यस्तो गर्न हुँदैन । व्यापार देखाएर गाडी, घर किन्ने गर्दा ऋणमा डुब्न सक्छ ।

केही मान्छेले समयमा किस्ता बुझाउनुहुन्न । फोन गर्दा पनि आउनुहुन्न । वित्तीय अनुशासनमा बस्न प्रयो । त्यसो हुँदा असफल भईंदैन ।

बैंकको ऋण आम्दानी होइन । कसैकसैले बैंकबाट ऋण लिएपछि त्यसलाई आम्दानीजस्तो ठान्नुहुन्छ । घर बेचेर या अरु केही गरेर भए पनि ऋण तिरिहाल्छु नि भन्नुहुन्छ । त्यस्तो होइन, तपाईंले जे को लागि ऋण लिनुभएको छ, त्यही व्यवसाय गरेर नै तिर्नुपर्छ ।

अनि जे को लागि  ऋण लिएको हो, त्यही काम गर्नुपर्छ । अरु केही गर्नुछ भने बैंकले फेरि त्यसकै लागि ऋण दिन्छ नि । तरकारी खेती गर्छु भनेर ऋण लिने, तर त्यसले घर बनाउने गर्नुहुन्न । घर बनाउन ऋण चाहियो भने फेरि बैंकले त्यसमै लागि ऋण दिन्छ नि । होम लोन, अटो लोन, थरिथरिका लोन छन् ।

ऋण लिएर म गर्छु भन्ने प्रतिबद्धता हुनुपर्छ । समयमा तिर्नुपर्छ । समयमा तिर्ने गर्नुभयो भने बैंकलाई पनि विश्वास हुन्छ । स्टेटमेन्ट क्लियर छ भने उसलाई बैंकले जतिबेला पनि सहयोग गर्छ । 

सारांशमा भन्नुपर्दा बैंक तपाईंको साथी हो । तपाईंलाई कुनै व्यवसाय गर्नुछ भने बैंकले साथ दिन्छ, ऋण दिन्छ । त्यसको लागि सबैभन्दा पहिले व्यावसायिक योजना बनाउनुहोस् । बैंकलाई दिनुहोस् । तपाईंको योजना हेरेर बैंकले ऋण दिन्छ । ऋण लिएर गैसकेपछि तपाईँ इमान्दार हुनुपर्छ, वित्तीय अनुशासनमा बस्नुपर्छ । अर्थात् जे को लागि ऋण लिएको हो, त्यसमा मात्रै सदुपयोग गर्नुहोस् । समयमा तिर्नुहोस् । तपाईँ कहिल्यै असफल हुनुहुन्न ।

अन्तिम अपडेट: चैत ६, २०८०

निरज लम्साल

लम्साल प्रभु बैंकका प्रमुख कर्जा अधिकृत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया