नदीको बहाव नियन्त्रणको गुरुयोजना बनाउन चिनियाँ टोलीले थाल्यो सर्वेक्षण

 साउन २, २०७५ बुधबार १८:२६:२५ | रासस

झापा – चिनियाँ अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको गुरुयोजना बनाउन प्रारम्भीक सर्वेक्षणको काम सुरु गरेका छन् । 

चिनियाँ प्रविधिज्ञ याउको नेतृत्वमा आएको सात सदस्यीय टोलीले बुधबारदेखि सर्वेक्षण सुरु गरेका हुन् । तीमध्ये केही पूर्वाधार विज्ञ छन् । 

टोलीले झापाको मावा, रतुवा, कमल बनियानी, कृष्णे, सतासी, कन्काइ, बिरिड्ग, निन्दा र हडिया नदीको बस्तुस्थितिको अध्ययन गर्नेछ । टोलीले पहिलो दिन बुधबार झापा र मोरङमा पर्ने मावा नदीको अध्ययन गरेको छ । 

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार जिल्लाका मुख्य सबै नदीको बहाव नियन्त्रण गर्न गुरुयोजना बनाउन चिनियाँ प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको हो । 

टोलीले नदीहरूको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । त्यसै आधारमा यसै वर्षदेखि तटबन्धको काम सुरु गर्ने सरकारको योजना छ । 

चिनियाँ टोलीले १५ दिन जिल्लामा बसेर झापाका मुख्य नदीहरूको अध्ययन गर्नेछन् । जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएको समझदारीअनुरुप टोली अध्ययनका लागि आएको बताउनुभयो । 

टोलीले समग्रमा झापाका नौवटा मुख्य नदीहरूको बस्तुस्थितिको अध्ययन गर्नुका साथै स्थानीय तहका प्रमुख र प्रभावित क्षेत्रका बासिन्दाका मागको समेत अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो । 

यी नदीहरूबाट प्रत्येक वर्ष जिल्लाका ४० हजार जनसंख्या प्रभावित हुँदैआएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया