कतारबाट फर्केपछि करेसाबारीको कोसेली

 मंसिर ११, २०७६ बुधबार १३:११:३९ | सन्जिता देवकोटा

झापा – आफ्नो जिन्दगीको कथा सुनाउँदा धेरैले भन्छन्, ‘सोचेजस्तो भएन जीवन ।’ तर अर्जुनधाराका कमल सिग्देल भन्नुहुन्छ, ‘एउटै गतिमा, आफूले सोचेजस्तै भयो भने त जिन्दगीको रस नै हुँदैन, दिनपछि रात भएजस्तै जीवनमा पनि दुःख छ र त सुखका लागि मेहनत गरिन्छ ।’ 

सोचेजस्तै हुन्थ्यो भने कमल आज पनि कि नेपाल प्रहरीमा रहेर देशको सेवा गरिरहनुभएको हुन्थ्यो, कि त कतारमा पसिना बगाइरहनुभएको हुन्थ्यो । सोचेजस्तो भएन र त कमल अहिले करेसाबारीको कोसेली लिएर झापाका बिभिन्न बजार पुग्नुहुन्छ । परिवारलाई समय दिनुहुन्छ । यही काममा खुशी खोज्नुहुन्छ । 

पैसा कमाउन उहाँले हरेक प्रयास गर्नुभयो । अनेक दुःख सहेर प्रहरीमा जागिरे हुनुभयो । त्यही दुःख गरेर खाएको जागिर छाडेर परदेशी बन्नुभयो । कमाइ त धेरथोर भयो । तर मनमा शान्ति भएन । 

द्वन्द्वकालमा कमल प्रहरी सेवामा हुनुहुन्थ्यो । दुःख गरेर खाएको सरकारी जागिर । पेन्सन आउने । बुढेशकालमा ढुक्क हुन्छ । प्रहरीको जागिर खानुको पछाडिको कारण यत्ति थियो ।

‘त्योबेला तनाव धेरै भयो, लुकीलुकी हिँड्नुपर्ने, ज्यान दाउमा राखेर के काम गर्नु, त्यसैले छाडिदिएँ,’ कमल प्रहरीको जागिर छाड्नुको करण सुनाउनुहुन्छ । 

जनकपुरमा थियो उहाँको काम । बुवाआमा बिरामी भएको खबर आउँथ्यो । तर घर जान सजिलो थिएन । कति पटक त भेषभुषा बदलेरै पनि उहाँ घर पुग्नुभयो । 
‘आफ्नो घर जान पनि डराउनुपर्ने काम पनि कसैले गर्छ भनेर छाडेको हुँ,’ कमल भन्नुहुन्छ । 

कमाउन कतार

जागिर छोडे पनि विदेशमा राम्रो कमाइ भइहाल्छ भन्ने लागेको थियो कमललाई । त्यसमाथि पूर्व प्रहरीलाई सुरक्षा गार्डको काममा राम्रो अवसर हुने कुरा उहाँले पनि सुन्नुभएको थियो । ६ वर्षअघि २०६९ सालको अन्त्यतिर उहाँ कतार जानुभयो । 

जाने बेलामा म्यानपावरबाट ८ घण्टा काम र बाँकी चाहिँ ओभरटाइम भनिएको थियो । तर देशमा भनेजस्तो परदेशमा के हुन्थ्यो र ? १२ घण्टा भोक तिर्खा नभनी खट्नु पर्‍यो ।

तर तलब चाहिँ महिनाको ७ सय कतारी रियाल मात्र ।  मेहनत अनुसारको पैसा पाएको भए पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो । पसिनाको मूल्य नपाउँदा खुब मन दुख्थ्यो । 

दुई वर्षको करार अवधि सक्नैपर्ने बाध्यता थियो । जसोतसो दुई वर्ष बिताएर उहाँ २०७१ सालमा घर फर्कनुभयो ।

कतारमा कामको मात्र दुःख थिएन, परिवारसँग बिछोडको पीडा पनि थियो । तातो घाममा पिल्सिएर बस्नुभन्दा खोले सिस्नु भए पनि परिवारसँगै खाने अठोट लिएर फर्कनुभएको थियो, कमल  ।  

परिवारको साथले दियो आत्मविश्वास

सबैभन्दा पहिला त मन खुशी हुनुपर्छ । आफू खुशी भए पो दुःखका पहाड फोर्न सकिन्छ ।  कमलको अघिल्तिर दुःखको पहाड थियो । कमाउने मानिस अरु थिएनन्।

दुई बालबच्चाको लालनपालनसँगै पढाइको जिम्मेवारी थियो । तर त्यही दुःखलाई चिर्न उनीहरुको साथ थियो कमललाई । विदेशबाट फर्किएपछि उहाँले ललितपुरको पाटनढोकामा चिया पसल खोल्नुभयो ।

चियापसलको आम्दानीले कतारको कमाइलाई जित्न थाल्यो । कमललाई व्यवसाय बढाउन रहर लाग्यो । त्यसपछि झापामा उत्पादन भएको चिया काठमाण्डौमा बेच्न थाल्नुभयो । गाडीमा विभिन्न ठाउँमा पुर्‍याउनुहुन्थ्यो । यो काम पनि फाप्यो कमललाई । 

एउटा पाइला चाल्न पो गाह्रो त ! पाइला चाल्न थालेपछि अघि बढ्न सजिलो हुन्छ । कमलले फेरि अण्डाको डिलरको काम पनि सँगसँगै गर्नुभयो । व्यवसायले रफ्तार लिइरहेका बेला कमललाई परिवारिक समस्या पर्‍यो । घरमा आमा सिकिस्त बिरामी भएपछि झापा फर्कनुपर्ने भयो । 

‘आमा बिरामी भएपछि मैले काठमाण्डौमा काम अघि बढाउन सकिनँ,’ कमल भन्नुहुन्छ, ‘केही समयपछि आमाको मृत्यु भयो ।’ आमाको निधनसँगै काठमाण्डौमा अघि बढेको कमलको व्यवसायमा पनि ‘ब्रेक’ लाग्यो । घरायसी समस्याले उहाँलाई काठमाण्डौ फर्कन दिएन । 

त्यसपछि सुरु भयो करेसाबारीको कोसेली

अण्डाको डिलरको काम गर्ने भएकाले कमलसँग सानो गाडी थियो । त्यही गाडीले नै नयाँ व्यवसायको बाटो देखायो । ‘गाउँमा के गर्न सकिन्छ भनेर सोच्दा, आफूसँग गाडी पनि छ, अब बजार जान नभ्याउनेहरुका लागि म तरकारी घरघरमा पुर्‍याइदिन्छु भनेर यो काम थालेको हुँ’ उहाँले नयाँ व्यवसायमा लाग्ने बेलाको सोच सुनाउनुभयो ।

आफूसँग भएको गाडीको प्रयोग गरेर कमलले जिन्दगीको अर्को यात्रा सुरु गर्नुभयो, ‘करेसाबारीको कोसेली ।’ घरमा सबैलाई तरकारी चाहिन्छ । तर व्यस्त मानिस बजार जान भ्याउदैनन् । धेरैका यही समस्यालाई कमलले अवसर मान्नुभयो । 

तराईका बजारमा हाट लाग्छ । तरकारी किन्न मानिस हाट पुग्छन् । तर अहिले कमलले हाटकै मूल्यमा घरघरमै तरकारी पुर्‍याइदिनुहुन्छ । आफू पनि तरकारी लगाउनुहुन्छ अनि अरुको उत्पादन घरघरमै गएर बजारसम्म पुर्‍याइदिनुहुन्छ । 

यो काम थालेपछि कमललाई लाग्न थालेको छ, मेहनत गरे नहुने केही रहेनछ । उहाँले आफ्नै गाउँठाउँमा तरकारी बेचेर पनि छोरीलाई डाक्टर पढाइरहनुभएको छ । 

कमलकी जेठी छोरी बीडीएस पहिलो वर्षमा पढ्दैछिन् । छात्रवृत्तिमा पढेको भए पनि होस्टलदेखि खानपिनसम्मको लागि महिनामा २० हजार रुपैयाँ खर्च हुन्छ । 
उहाँको मासिक आम्दानी एक लाख रुपैयाँसम्म हुन्छ । छोरीलाई पठाउनदेखि अरु सबै घर व्यवहार यसैले धान्नुभएको छ ।

सबै खर्च कटाएर जति सकिन्छ भविष्यका लागि बचत पनि गर्नुहुन्छ । ‘कति सपना पालेर परदेश गइयो, तर भनेको जस्तो भएन, तर यहाँ नसोचेकै कामबाट जिन्दगी चलिरहेको छ’ कमल चित्त बुझाउनुहुन्छ । 

परिवारसँग टाढा रहेर काम गर्दा कमाइ जति भए पनि पारिवारिक तनावले सताउँछ । तर परिवारसँगै बसेर काम गर्दा थोरै किन नहोस् धेरै हुने रहेछ भन्नुहुन्छ कमल। 
कमल आफ्नो काममा सन्तुष्ट हुनुहुन्छ । उहाँले यही कामलाई अझै बढाउने र छोरीलाई राम्रो डाक्टर बनाउने सपना देख्नुभएको छ ।

अन्तिम अपडेट: माघ १२, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया