यातायात मन्त्रीको निर्देशन : टूटल र पठाओलाई निर्वाध चल्न दिनू, कानुन बन्दै गर्छ

 मंसिर ११, २०७६ बुधबार १७:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले टूटल र पठाओको सेवा तत्काललाई नरोक्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकलगायतलाई बोलाएर मन्त्री नेम्वाङले अहिले सेवा दिइरहेका बेलामा कारबाही गर्ने र रोक्ने कुरा नगर्न निर्देशन दिनुभएको हो । बरु टूटल र पठाओ जस्ता निजी नम्बर प्लेटका सवारी साधनले भाडाका यात्रु ओसार्नको लागि नियमन गर्ने कानुन निर्माणमा जुट्न पनि मन्त्री नेम्वाङले निर्देशन दिएको मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

‘कानुन बन्दै गर्छ, तर अहिले राम्रोसँग चलेको व्यवसायमा हात नहाल्नुहोस, बरु यसलाई नियमन गर्न के गर्नुपर्छ, मलाई रिपोर्ट बनाएर दिनुहोस’,  मन्त्रीको भनाइ उद्धृत गर्दै सहसचिव ज्ञवालीले भन्नुभयो, ‘विदेशतिर पनि यस्तो सेवा चलेको छ भन्ने सुनेको छु, बुझ्न नपाइ बन्द गर्ने भन्ने कुरा आउँदैन बरु कानुनमा सुधार गरौँ ।’

अहिले टूटलमा २५ हजार मोटरसाइकल तथा स्कुटर दर्ता छन भने ५ लाख ग्राहक छन् । यस्तै पठाओका ग्राहक पनि ५ लाखभन्दा माथि छन् । दैनिक २० हजार जनाले दुईपांग्रे र २ हजार जनाले पठाओको कारमार्फत सेवा लिइरहेका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८  मा  निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न नपाइने उल्लेख छ । दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था समेत छ ।

तर विश्वका धेरै देशमा प्राइभेट नम्बर प्लेटका गाडीले पनि भाडाका मान्छे बोक्न पाएको अवस्थामा नेपालमा राइड शेयरिङ सेवा सुरु भएको ३ वर्षसम्म पनि सरकारले कानुन बनाउन सकेको छैन । कानुन बनाएर टूटल पठाओ जस्ता सेवालाई नियमन गर्नुको साटो बेला बेला बन्द गर्ने चेतावनी दिँदा सरकारको धेरै आलोचना हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया