विश्व बैंकसँग १६ अर्ब ३७ करोड सहयोगसम्बन्धी सम्झौता

 मंसिर ११, २०७६ बुधबार १८:४४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।

युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड रुपैयाँ तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि दुई अर्ब ७४ करोड १३ लाख रुपैयाँ सहयोग गर्न लागेको हो ।

अर्थ मन्त्रायलमा बुधबार आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र विश्व बैंकका नेपाल प्रबन्धक फारिस हडाड जेर्भोसले ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार विश्व बैंकले यो वर्ष विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत यो वर्ष ७० लाख विद्यार्थी, एक लाख असी हजार शिक्षक र तीस हजार बढी सामुदायिक विद्यालयमा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा सञ्चालन हुने सम्झौतामा उल्लेख छ ।

युवा रोजगारी रूपान्तरण प्रयास परियोजनाले ७५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्रबाट रोजगारीमा पहुँच वृद्धि गर्नेछ । त्याे परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्तरूपमा  कार्यान्वयन गर्नेछन् ।

कार्यक्रममार्फत नेपालको भौतिक पूर्वाधार परियोजनामा अस्थायी रोजगारीका अवसर सिर्जना गरिने छ भने युवा तथा महिलालाई ५० दिन रोजगारीको अवसर उपलब्ध गराइने छ ।

त्यस अवसरमा  सचिव खनालले नेपालको सामाजिक, आर्थिक र शैक्षिक  विकासमा विश्व बैंकले निरन्तर गर्दै आएको सहयोगको  सराहना गर्नुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया