टिप्पर दुर्घटनामा घाइते भएका ११ जनालाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

 मंसिर १२, २०७६ बिहिबार १२:९:५८ | रमेश ऐडी
unn.prixa.net

हुम्ला – हुम्लामा बुधबार भएको टिप्पर दुर्घटनामा घाइते भएका बिरामीको थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

घाइते ११ जना बिरामीलाई सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो । सिमकोट गाउँपालिका–७ लाग्ना भन्ने ठाउँमा लु ४ ख ३२६९ नम्बरको टिप्पर बुधबार दिउँसो सदरमुकाम सिमकोटतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घटनास्थलमै तीन जनाको र उपचारको क्रममा जिल्ला अस्पतालमा एक जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा नाम्खा गाउँपालिका– १ हेप्का गाउँकी नरी लामा, छिरिङकार्मा लामा र हिल्सा सिमकोट सडक आयोजनाका कार्यालय सहयोगीको खार्पुनाथ गाउँपालिका–१ का बबरजंग शाही र सिमकोट गाउँपालिकाका ५४ वर्षीय वक्त रोकाया रहेका छन् ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार असम्भव भएकोले जिल्ला बाहिर लैजान सेनाको हेलिकप्रमार्फत नेपालगञ्जतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनुभयो  । 

बिरामीको  उपचारका लागि एक लाख सहयोग

दुर्घटनामा घाइते भएका ११ जनाको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले एक लाख रुपैयाँ सहयोग गरेको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया