अयोध्याबाट हिँडेकाे जन्ती जनकपुरधाम आइपुग्यो, शुक्रबार राष्ट्रपतिले स्वागत गर्ने

 मंसिर १२, २०७६ बिहिबार १६:२६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा -  श्रीराम-जानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट हिँडेकाे जन्ती बिहीबार ऐतिहासिक धार्मिक तथा सांस्कृतिक नगर जनकपुरधाम आइपुगेकाे छ ।

श्रीराम जानकी मन्दिरमा मनाइने विवाह महोत्सवमा सहभागी हुन भगवान श्रीरामको नगर अयोध्याबाट मंसिर ५ गतेका दिन हिँडेका जन्ती बुधबार मठिहानी हुँदै नेपाल प्रवेश गरेका साधु सन्तसहितको जन्ती बिहीबार जनकपुरधाम आइपुगेका हुन् ।

पाँच सयभन्दा बढीको संख्यामा आएको ती जन्तीहरुलाई मठिहानी, जलेश्वर र पिपरालगायतका ठाउँमा स्वागत गरिएकाे थियाे । जनकपुरधाममा भने नगर परिक्रमासहित स्वागत गरिएको छ ।

जनकपुरधाममा प्रवेश गर्दा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले स्वागत गर्नु भएकाे थियाे ।

त्रेता युगमा  सीतासँग विवाहका लागि जसरी भगवान रामको जन्ती आएको थियो, त्यसैकाे  स्मरणमा प्रत्येक वर्ष अयोध्याबाट विवाह पञ्चमीको अवसरमा साधु सन्तसहितको सयौँको संख्या जन्ती आउने गर्छ ।

अयोध्याबाट आएका जन्तीलाई शुक्रबार जनकपुरधामस्थित रंगभूमि मैदान बाह्र बिघामा हुने विशेष कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेकाे छ । ष्ट्रपति भण्डारी अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न भोलि शुक्रवार जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

यता विवाह पञ्चमीको साप्ताहिक कार्यक्रम अन्तर्गत पहिलो दिन नगर दर्शन, दोश्रो फूलबारी लिला सम्पन्न भइसकेको छ भने बिहीबार तेश्रो दिन धनुष यज्ञ आयोजना भएको छ ।

त्यसैगरी चौथो दिन मंसिर १३ गते तिलकोत्सव, १४ गते मटकोर, १५ गते विवाह पञ्चमी उत्सव मनाइने छ भने अन्तिम सातौँ दिन रामकलेवा गर्दै जन्तीलाई बिदाइ गरी महोत्सव सम्पन्न हुनेछ ।

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतीय गृह मन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीका योगी आदित्यनाथलाई निम्तो गरिएको थियो । तर भारतीय राजनीतिमा भएको उथलपुथलले उहाँहरु आउने सम्भावना नरहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया