कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हाे भन्ने ऐतिहासिक प्रमाण छन् : मन्त्री बाँस्काेटा

 मंसिर १२, २०७६ बिहिबार १८:३१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालले भारतसँगको सीमा विवाद भएका लिम्पियाधुरासँगै सुस्ताको समस्या पनि समाधान गर्न चाहेको बताउनु भएको छ । 

बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपाल सरकारले भारत सरकारलाई विवादित लिम्पियाधुराको विषयमा कुटनीतिक नोट पठाएको जानकारी दिनुभयो । साथै मन्त्री बाँस्कोटाले लिम्पियाधुरासँगै सुस्ताको सीमा समस्याको पनि कुटनीतिक र राजनीतिक रुपमा समाधान गर्न पहल गर्ने बताउनुभयो । नेपालले कालापानी तथा लिम्पियाधुरासम्बन्धी नेपाल पक्षका ऐतिहासिक दस्तावेज कागज पत्र प्रमाण जुटाएर तथ्यगत आधारमा वार्ता गरिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, 'कालापानी, लिपुलेक हाम्रो भूभाग हो, हामीलाई अरुको एक इञ्च पनि जमिन चाहिँदैन, हाम्रो पनि छाड्दैनौँ । सीमाका विषयलाई लिएर चर्का कुरा नगरौँ ।'

'पुराना लिखत, सन्धि सम्झौता, स्थानीय जनताले तिरेका निस्सा, जनगणनाजस्ता दस्तावेजसहित सुगौली सन्धिको धारा ५ जस्ता प्रमाण छन् । तिनै तथ्यका आधारमा सत्य प्रमाणित हुने र सत्यपछि सार्वभौमिकता पुष्टि हुनेछ', मन्त्री बाँस्कोटाले भन्नुभयो, 'सबै राजनीतिक दलले सीमाका विषयमा सरकारलाई भरथेग, ऐक्यबद्धता जनाउनुभएको छ, यही हाम्रो शक्ति र सामर्थ्य पनि हो ।'

प्रवक्ता बाँस्कोटाले नेपाल भारत सीमा निरीक्षण समिति र नेपाल चीन सीमा निरीक्षण समिति गठन भएको उल्लेख गर्दै तीन महिनाको अवधिमा समितिले प्रतिवेदन ल्याउने जानकारी दिनुभयो । 

मन्त्री बाँस्कोटाले नेपाल सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र त्यहाँका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न निमन्त्रणा पत्र हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यसै साता रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया