अचार उद्योगले बदलेको हजुरीको परिचय : सासू बनाउने, ज्वाइँ बेच्ने !

 मंसिर १३, २०७६ शुक्रबार १२:२३:५२ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ – अचारले खानाको स्वाद फेर्छ भन्ने त सबैलाई थाहा छ । तर काठमाण्डौकी ६५ वर्षीया हजुरी विष्टको भने अचारले जीवन र परिचय नै फेरिदिएको छ । 

२५ वर्ष अघिसम्म एउटा सामान्य गृहिणीको रुपमा रहेकी हजुरी अहिले एउटा सफल अचार उद्यमीको रुपमा चिनिनुहुन्छ । २०५१ सालमा एउटा संस्थाले दिएको अचार बनाउने तालिमपछि उहाँले व्यावसायिक रुपमा अचार बनाउने काम थाल्नुभएको हो । त्यही कामले अहिले नामसँगै दाम मिलेको छ ।

ललितपुरको सानेपामा रहेको उहाँको उद्योगबाट वर्षको ३५ हजारदेखि ४० हजार बट्टासम्म अचार उत्पादन हुन्छ । एक बट्टा अचारको मूल्य १ सय ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म पर्छ । उद्योगबाट प्रत्यक्ष २५ जनाले रोजगारी पाएका छन् । उहाँको ज्वाइँ क्रतुराज पाण्डेलेसमेत अचार बिक्री गर्न सहयोग गर्नुहुन्छ ।

सासूको अचार उद्योगपछि ज्वाइँको अचार घर

डिल्लीबजार घर भएका पाण्डे बेलाबेला ससुराली पुग्नुहुन्थ्यो । ससुरालीमा सासूआमाले बनाएको अचार चाख्न पाइन्थ्यो नै । बाहिर पनि उहाँले सासूआमाले बनाएको अचारको गुणगान सुन्नुभयो ।

त्यसपछि उहाँलाई अचार व्यवसाय गर्ने सोच आयो । ‘मलाई सासूआमाको अचार उद्योगले नै नयाँ सोचको विकास गरायो’ पाण्डेले भन्नुभयो ।

पाण्डेले तीन वर्षअघि ललितपुरको झम्सिखेलमा अचार घर नामक रेष्टुरेन्ट सुरु गर्नुभयो । यसअघि उहाँ बैंकमा काम गर्नुहुन्थ्यो । ‘बैंकमा आम्दानी पनि ठिकै थियो’, पाण्डेले भन्नुभयो, ‘तर मनमा सन्तुष्टि भने थिएन, त्यसैले नयाँ व्यवसाय गर्ने योजना बनाएँ र सुरु गरेँ ।’

होटल म्यानेजमेन्ट पढेका पाण्डेलाई पहिलेदेखि नै यही क्षेत्रमा काम गर्ने इच्छा थियो । तर कसरी गर्ने, के गर्ने भन्ने मेसोमेलो पाउनुभएको थिएन ।  

अलमल भैरहँदा उहाँले सासूआमाले बनाएको अचारको बजार बुझ्नुभयो । अचार बेच्न कठिनाई भैरहेको थाहा पाएपछि उहाँले रेष्टुरेन्ट खोल्ने निधो गर्नुभयो । सासुको अद्योगमा उत्पादित अचारलाई मुख्य आकर्षण बनाएर रेस्टुरेन्टको नाम ‘अचार घर’ राख्नुभयो ।

सुरुमा खानाको ‘टेस्ट’ र अचारको ‘सही टेस्ट’ दिनका लागि ६ महिना लाग्यो । काम भने सफल हुँदै गयो । अचार घरबाट केही राम्रो गर्न सकिने जस्तो लागपछि बैँकको जागिर छोड्नुभयो । त्यसपछि उहाँको सबै समय अचार घरमा बित्न थाल्यो ।

खानाका परिकार त जहाँ पनि पाइन्छन् । तर अचार घर भने अचारका विभिन्न परिकारकै लागि प्रख्यात छ ।

अचार घरमा नेपाली खानाको परिकारसँगै अकबरे, लप्सी, सुकाएको मूला, खल्पी, कागती, मसलालगायतका १२ भन्दा धेरैथरीका अचारको स्वाद चाख्न पाइन्छ । ‘गाउँघरमा पहिले निकै प्रचलनमा रहेको र अहिले हराउन लागेको अचारको संरक्षण र अचारका पारखीहरुलाई सन्तुष्टि दिनका लागि अचार घर सञ्चालन गरिएको हो’ पाण्डेले भन्नुभयो, ‘अचार पारखीको आकर्षण पनि बढिरहेको छ ।’

पहिला सासूले उत्पादन गरेको अचार बेच्नका लागि गाह्रो हुँदै गएकोमा अहिले सजिलो भएको पनि उहाँले बताउनुभयो ।

‘तीन वर्षअघि मात्रै सञ्चालन गरिएको अचार घर यति प्रख्यात होला भनेर अनुमान नै गरेको थिइनँ’ उहाँले सन्तुष्टि व्यक्त गर्नुभयो ।

नेपाली खानाको परिकार, नेपाली स्वादको अचारसँगै अचार घरमा सारङ्गी र मादल पनि घन्किन्छ । 
अचार घरबाट दैनिक ५ हजारदेखि १ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।

ग्राहकको आकर्षण बढेपछि अर्को पनि शाखा खोल्ने तयारीमा रहेको उहाँले बताउनुभयो । ‘उपत्यका भित्र या बाहिर जता भए पनि नयाँ अचार घरको शाखा खोल्ने तयारी छ’। उहाँले भन्नुभयो । 

पछिल्लो समय युवाहरु स्वदेशमा काम पाइएन भन्दै विदेशीने गरेकाले अरु ठाउँमा पनि शाखा खोलेर केही हदसम्म भए पनि बैदेशिक रोजगारीमा जाने युवालाई रोक्न पहल गर्ने उहाँ बताउनुहुन्छ । 

बनाउन गाह्रो, बेच्न सजिलो

अचारका पारखी बढेपछि अचार बेच्न गाह्रो छैन । पाण्डको रेष्टुरेन्ट पनि राम्रैसँग चलिरहेको छ । तर अचार बनाउन भने गाह्रो छ ।

बेमौसममा अचारको लागि आवश्यक खाद्यवस्तु जोहो गर्नु निकै गाह्रो हुने हजुरी विष्टले बताउनुभयो । सबै मसलाहरु धेरै दिनसम्म भण्डारण गरेर राख्न सकिँदैन, जसका  लागि उमालेर सुकाएर राख्नुपर्ने हुन्छ । सबै थरीका अचार बाह्रै महिना बनाउन कठिन हुने उहाँको अनुभव छ । 

हजुरीले विशेषगरी लप्सी, अमला, कागती र मूलाको अचार बनाउनुहुन्छ । अचारको लागि आवश्यक सामग्री विभिन्न जिल्लाबाट काठमाण्डौ ल्याउने गरिन्छ । लप्सीलगायतका कतिपय अचार एक वर्षका लागि बनाएर राख्नुपर्छ । बढी मात्रामा ग्राहकले रुचाउने लप्सीको अचार जाडो महिनामा नै सबै महिनालाई पुग्ने गरी बनाएर राख्ने गरेको उहाँ बताउनुहुन्छ । ‘लप्सीलाई उमालेर स्टोर गरेर राख्ने गरेका छौँ’, उहाँ भन्नुहुन्छ, ‘सिजनमा २ हजारदेखि २ हजार ५ सय किलोसम्म लप्सी किनेर अचार बनाउनका लागि तयारी अवस्थामा राख्ने गरिन्छ ।’

भण्डारणमा सावधानी नअपनाइए बिग्रिनेदेखि कुहिएर नोक्सानसमेत हुने जोखिम रहन्छ । तर अहिलेसम्म नोक्सानी व्यहोर्नुनपरेको हजुरीले बताउनुभयो । उहाँले बनाएको अचार विदेशमासमेत निर्यात हुन्छ ।

अन्तिम अपडेट: पुस २२, २०७६

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया