महाकवि देवकाेटाकाे नामबाट सडककाे नाम राख्न सर्बिया सकारात्मक

परराष्ट्र मन्त्री ज्ञवालीद्वारा रुसी राष्ट्रपति पुटिन र प्रधानमन्त्रीलाई नेपाल भ्रमणकाे निम्ताे

 मंसिर १३, २०७६ शुक्रबार १६:५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली रुस र सर्बियाको भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनु भएको छ । 

मन्त्री ज्ञवाली शुक्रबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिनुभयो । 

त्यस्तै ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा नेपालमा आयोजना हुने ‘सगरमाथा संवाद’ मा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको पनि उहाँले बताउनु भयो । मन्त्री ज्ञवालीले दुई पक्षीय सम्बन्धलाई मजबुत बनाउँदै व्यापार प्रवर्द्धन, लगानी अभिवृद्धि, पर्यटन, आर्थिक सहायता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको जानकारी दिनुभयो । 

त्यस्तै नेपाललाई ‘संघाई को–अपरेसन अर्गनाइनेशन’ को पूर्ण सदस्य बन्नको लागि सहयोग गर्न आग्रह गरेको पनि मन्त्री ज्ञवालीले बताउनु भयो । उहाँले रुससँग विपद्का बेला उद्धारका लागि चाहिने र युरोपेली संघ (यूएन) मिसनका लागि चाहिने सामग्री सहयोगको बारेमा छलफल भएको जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले सर्बियाको औपचारिक भ्रमणका क्रममा पनि दुई देशबीचको हितका विषयमा छलफल भएको जानकारी दिनुभयो । सर्बियासँगको सम्बन्धको ६० औँ वार्षिकोत्सवको अवसर पारेर त्यहाँको कुनै एक सडकको नामाकरण महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामबाट राख्न सर्बिया सकारात्मक रहेको समेत ज्ञवालीले भन्नुभयो । 

परराष्ट्र मन्त्री ज्ञवाली रुस र सर्बियाको औपचारिक भ्रमणका लागि गएको शनिबार रुसको राजधानी मस्को प्रस्थान गर्नुभएको थियो । उहाँले मंसिर ८ गतेदेखि ११ गतेसम्म रुसको र ११ देखि १२ गतेसम्म सर्बियाको भ्रमण गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया