भारत र चीनले नेपालसँगको सम्बन्धलाई २+१ को रणनीति बनाउन खोजेको भन्दै प्रचण्डकाे असन्तुष्टि

 मंसिर १३, २०७६ शुक्रबार १७:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत र चीनले नेपालसँगको सम्बन्धलाई २+१ को रणनीति बनाउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । 

शुक्रबार काठमाण्डौमा नेपाल-चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले चीन र भारतसँग नेपालको सम्बन्ध समानताको आधारमा त्रिदेशीय रणनीतिक साझेदारीको सम्बन्ध हुनुपर्ने बताउनुभयो । चीन र भारतले नेपालको सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्दै समदूरी कायम राख्नु पर्ने बताउनुभयाे । २जोड १ को अर्थ दुई राष्ट्रसँग जोडिएको भन्ने अर्थ लाग्ने भएकोले आफूलाई चित्त नबुझेको बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ  र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचकाे भेटमा  प्रयोग भएको ‘टु प्लस वान’ रणनीति आफूलाई उपयुक्त नलागेको प्रचण्डले बताउनुभयाे । ‘टु भनेको विशेष अधिकार प्राप्त र वान भनेको जोडिएको समान्य भने जस्तो अर्थ हुन्छ’, उहाँले भन्नुभयाे, ‘टु प्लस वान होइन, थ्री हुँदा मात्र तीन सार्वभौम देशको समान हैसियत हुन्छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालको द्रुततर विकासमा त्रिदेशीय रणनीति आवश्यक रहेको औल्याउनु भएको थियाे । नेपाल चीन र भारतको ट्रान्जिट मात्र नभई विकास साझेदार पनि रहेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले पछिल्लो समय त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतमा सकारात्मक छलफल हुन थालेको बताउनुभयो ।

यस्तै नेपाल, भारत र चीनबीचको सम्बन्ध जनस्तरसम्म लैजान आवश्यक रहेको पनि उहाँले बताउनुभयो । नेपालले त्रिदेशीय रणनैतिक साझेदारीको सम्बन्ध स्थापित गर्न जनमत निर्माण गर्नु पर्ने बताउनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला चिनियाँ पक्षले भारतलाई समावेश गरेर नयाँ संवाद स‌ंयन्त्र स्थापना गर्ने प्रस्ताव राखेकाे बताइन्छ । याे संयन्त्र त्रिपक्षीय संयन्त्रभन्दा फरक हुने पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसमा चीन र भारत मिलेर तेस्राे क्षेत्रीय दलसँग संवाद गर्ने रणनीति समेटिएकाे छ ।

कार्यक्रममा अध्यक्ष  प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनु भएको छ ।  प्रचण्डले चीनले पनि आफ्नो नेपाललाई हेर्ने नीतिमा कहिल्यै परिवर्तन नगर्ने  बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया