प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे मिडियामा अतिरञ्जित कुरा आए : प्रेस सल्लाहकार थापा

 मंसिर १३, २०७६ शुक्रबार १८:१०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे मिडियामा अतिरञ्जित कुरा आएको भन्दै गुनासो गर्नु भएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उहाँले मिडियालाई जिम्मेवार र उत्तरदायी पत्रकारिता गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सन्तोषप्रद ढंगले तीव्र गतिमा सुधार भएको छ । आज प्रधानमन्त्रीज्यूको निजी चिकित्सक र उहाँको उपचारमा संलग्न आधा दर्जन चिकित्सकहरुले पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराउनुभएको छ । उहाँको अहिलेको स्थिति के छ ? भन्नेबारे उहाँहरुले सत्य, तथ्य सार्वजनिक गर्नुभएको छ । अर्को हप्ता उहाँ डिस्चार्ज हुनुहुनेछ ।’

साक्षात्कारमा उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले एपेन्डिसाइटिसको समस्या आकस्मिक रुपमा भोग्नुभयो । अहिले उहाँ पूर्ण स्वास्थ्य लाभको दिशामा अघि बढ्नुभएको छ । तर, सञ्चारमाध्यमबाट बढो तिलस्मी ढंगले, बढो नयाँ तथ्य प्राप्त गरेजस्तो गरी, बढो खोज गरेजस्तोगरी जे तथ्यहरु आएका छन्, ती सान्दर्भिक छैनन् ।’

उहाँले प्रधानमन्त्री ओली जेलमा हुँदा पनि असाध्यै बिरामी भएर निकै जीवन–मरणको दोसाँधबाट त्यो चरण पार गरेर २०४४ सालमा रिहाइ भएको  स्मरण गराउनुभयो । थापाले थप्नुभयो, ‘उहाँको स्वास्थ्य समस्या अकस्मात् रुपमा वा अहिले अस्पताल भर्ना भएर देखापरेको होइन । उहाँले ४०, ४२ वर्षदेखि विभिन्न रोगहरुको सामना गर्दै आउनुभएको छ । १२ वर्ष यता त उहाँले मिर्गौला प्रत्यारोपण गरिसकेर यहाँसम्म आइपुग्नुभएको छ । उहाँले किड्नी ट्रान्सप्लान्ट गरेको १२ वर्ष भैसक्यो । यसबीचमा अहिले भर्खरै यो किड्नीको समस्या देखापरेको जस्तोगरी कथा बुन्नुभएन् ।’

उहाँले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे कथाहरु बुनिएको भन्दै गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘कथा त चलचित्रलाई काम लाग्छ । तर, व्यवहारिक जीवनलाई त्यसले काम दिँदैन् । प्रधानमन्त्रीज्यू अस्पतालमा भर्ना हुनासाथ सिर्जना गरिएका डर र आतंकबाट पनि मिडिया अलि सच्चिनुपर्छ ।’

एपेन्डिसाइटिसको शल्यक्रिया सामान्य कुरा भएको बताउँदै उहाँले यसलाई अतिरञ्जित गर्न नहुने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूलाई पनि राति १ बजे पेट दुख्यो । ८ बजे अस्पताल लगियो, १२ बजे त शल्यक्रिया भैसकेको थियो । एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ तर, मिर्गौला प्रत्यारोपण गरिएको जस्तोगरी प्रचार गरिन्छ । जुन गलत हो । अतिरञ्जना हो । ट्विस्ट हो । यसरीचाहिँ आमसञ्चार क्षेत्र बहकिनुहुन्न । विषयलाई ट्विस्ट गर्न हुन्न । जे हो, त्यही समाचार लेख्नुपर्यो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भयंकर छ भनेर भन्नुभएन ।’ 

त्यतिमात्रै नभएर प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएकोबारे मिडियाले एकदम ठूला अक्षरमा समाचार छापेकोप्रति टिप्पणी गर्दै थापाले भन्नुभयो, ‘नेपाली समाजमा भेन्टिलेटरलाई यसरी चित्रण गरिएको छ कि मानौं अब बिरामीको अन्तिम अवस्था भैसक्योझैं गरी, यो त सामान्य कुरा हो । बिरामीलाई रिस्क नहोस भनेर ‘ब्याक–अप’को रुपमा भेन्टिलेटर प्रयोग गरिँदै आएको छ ।’

त्यस्तै, अस्पतालका एक जना चिकित्सकले पनि आतंक सिर्जना गरेको थापाको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘उहाँका सबै अंग काम लाग्न नसक्ने हुनसक्छ भनेर आतंक मच्चाइएको छ । उहाँलाई संक्रमण नहोस भनेर भेन्टिलेटरमा राखिएको हो । जनताको शुभेच्छाले उहाँ अहिले योसंक्रमणबाट पार गरेर आउनुभएको छ । उहाँ अहिले पनि सघन उपचार कक्षमा हुनुहुन्छ । अबको केही दिनपछि उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर डिस्चार्च हुनुहुनेछ ।’

उहाँले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले हरेक दिन बिहान १० बजेको हाराहारी र बेलुका ७ बजेको हाराहारीमा विज्ञप्ति निकालेर मिडियामार्फत नागरिकलाई जानकारी गराएको स्पष्ट पार्नुभयो । उहाँले विज्ञप्तिका कुरा समाचार नबनाइएको भन्दै असन्तुष्टि पोख्नुभयो ।

‘भोलिपल्ट अन्यथा ढंगले नियोजित समाचार सम्प्रेषण गरिएको छ । डायलाइसिस गरिनु कुन ठूलो कुरा हो ? भेन्टिलेटरको आतंक किन मच्चाउनुपर्यो ?’, थापाले प्रश्न गर्नुभयो । उहाँले अनावश्यक आतंक फैलाउनेहरुलाई कानुनको दायरामा ल्याउने चेतावनी दिनुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया