माइतीमा त्रिपुरासुन्दरी: न्वागी खाएर सकियाे मेला

 मंसिर १३, २०७६ शुक्रबार १८:४२:२७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको त्रिपुरासुन्दरी भगवती मेला शुक्रबार त्रिपुरासुन्दरी भगवतीले माइती घरमा न्वागी खाएसँगै सकिएको छ ।

त्रिपुरासुन्दरी भगवतीलाई एक वर्षभित्र विभिन्न मन्दिरमा लगेर राख्ने र त्यहीँ पूजाआजा गर्ने अनौठो र रोचक परम्परा बाकेको याे मेला बिहीबार साँझदेखि रातभर पूजा पाठ गरेर शुक्रबार बिहानै देवीको प्रतीकलाई गाउँको मन्दिर सल्यानकोटबाट बेसीको मन्दिर आगिन्चोक झारिएकाे थियाे ।

देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भए पनि यो जात्रामा भक्तजनहरुले बाटोमै बसेर भगवतीको दर्शन गर्न पाउँछन् । मंसिर महिनाको विशेष: तिथिमा भगवतीलाई गाउँको मन्दिर सल्यानकोटबाट बेसीको मन्दिर आगिन्चोकको स्लयानबेसीमा सार्ने गरिन्छ ।

खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झण्डै ३ घण्टाको ओह्रालो तथा अप्ठेरो बाटो हुँदै शुक्रबार भगवतीलाई बेसीको मन्दिर ल्याइएको हो । जसलाई स्थानीयको भाषामा माइत ल्याइएको भनिन्छ ।  

भगवतीको प्रतीक बेसी झार्दा भक्तजन र पुजारीहरुले खुँडा, खुकुरी सहित पञ्चेबाजामा नाच देखाउँदै दियो, कलश, बोकेर शंख, घण्ट बजाउँदै भगवतीको जयजयकार गाउँदै अविर जात्रा गरेका थिए ।

भगवतीको दर्शन गर्न पुगेका भक्तजनहरुले परैबाट पुजा गर्नुपर्ने प्रचलन छ । देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन् न फोटो नै देखेका छन् । एक वर्षभित्र विभिन्न ३ ओटा मन्दिरमा लगेर राख्ने र त्यहीँ पूजाआजा गर्ने अनौठो र रोचक परम्परा छ ।

यसै परम्परा अनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ  । याे भगवतीकाे मामाघरको रुपमा प्रसिद्ध छ ।

मंसिरदेखि चैत्रसम्म भगवतीलाई आगिन्चोक गाविसमा रहेकाे बेसीको मन्दिरमा राखिन्छ । सल्यानकोट गाविसकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिनाभन्दा बढी समय भगवतीलाई त्यहीँ पूजाआजा गरिने चलन रहेकाे सामाजिक कार्यकर्ता नारायण तिमल्सिनाले बताउनुभयो । त्रिपुरासुन्दरीको यो आफ्नो हो ।

नेपाल एकीकरणको बेला पृथ्वीनाराण शाहले काठमाण्डौ आक्रमण गर्न जाँदा त्रिपुरासुन्दरी भगवतीको आशिर्वाद पाएको खड्ग लिएर गएपछि काठमाण्डौ जितेको किंवदन्ती छ ।

यस वर्षदेखि गाउँपालिकाले नै त्रिपुरासुन्दरी भगवतीको न्वागी मेला आयोजना गर्न सुरु गरेको हाे ।  

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया