साग पुरुष भलिबल : समूह चरणबाटै बाहिरियाे नेपाल

 मंसिर १३, २०७६ शुक्रबार १८:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलमा नेपाल समूह चरणबाट नै बाहिरिएको छ । लगातार दुई खेलमा हार बेहोरेसँगै नेपाली पुरुष भलिबलको यात्रा समूह चरणमै रोकिएको हो ।

शुक्रबार भारतसँग ३-० काे साेझाे सेटमै हार बेहाेरेपछि नेपालकाे यात्रा टुंगिएकाे हाे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा नेपालले पहिलो सेट २५-१६ ले गुमायो । उपाधिको दाबेदार भारतविरुद्ध नेपाल पहिलो सेटमा २१-१३ ले पछि परेको थियो । त्यसपछि नेपालले अरु अंक थप्न नसक्दा भारत २५-१६ ले विजयी भयो । पहिलो सेटमा नेपालले सर्भिस र रिसिभमा कमजोरी देखाएको थियो ।

दोस्रो सेटमा नेपालले सुरुवाति तीन अंक बटुलेको थियो । एक समय पाँच-तीनकाे अवस्थामा रहेको नेपाल खेल अगाडि बढेसँगै १३-६ मा पुगेको थियो । भारतसँगकाे खेलमा पनि नेपालको रिसिभमा समस्या देखियो । यसका साथै नेपालले प्रहार गरेका सटहरु कोर्ट बाहिर गएका थिए । मानसिक रुपमा नै नर्भस भएका नेपाली खेलाडीले कमब्याक गर्न सकेनन् । १६-६ को अवस्थामा रहेको दोस्रो सेटमा त्यसपछि नेपालले अरु ७ अंक जोड्दा भारतले २५-१३ ले जित्यो ।

तेस्रो सेटमा नेपालले केही सुधारिएकाे प्रदर्शन गरेकाे थियाे । जसमा नेपाल एक समय सात-पाँचको अवस्थामा थियो । तर भारतको जोडदार प्रहारविरुद्ध नेपालका खेलाडी निकै निरीह देखिए । त्यसमा पनि सर्भिसमा पनि कमजोर देखियो ।

तेस्रो सेटको मध्यतिर भारत १२-१६ ले अगाडि रहेको थियो । त्यसपछि पनि भारतले आफ्नो दबदबा कायमै राख्दै सेट २५-१६ ले सेट जित्याे ।

यसअघि नेपाल बंगलादेशसँग ३-२ ले पराजित भएको थियो । समूह ए बाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया