विवाह पञ्चमीमा खटिएका प्रहरी निरीक्षक नब्बे हजार रुपैयाँ घुससहित पक्राउ

 मंसिर १४, २०७६ शनिबार ११:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - रामजानकी विवाह महोत्सवका लागि जनकपुरधाममा खटिएका एक प्रहरी निरीक्षक ९० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लामा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साहलाई विवाह पञ्चमी महोत्सवमा सुरक्षाका लागि खटिएका बेला शुक्रबार दिउँसो घुससहित पक्राउ गरेकाे हाे ।

जनकपुरधामको रामानन्दमा रहेकाे होटल सीता प्यालेसबाट साहलाई घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । ठगी मुद्दा मिलाइदिने शर्तमा ९० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले साहलाई पक्राउ गरेको बताइएकाे छ ।

लामो समयदेखि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक साहलाई विवाह पञ्चमीको सुरक्षाको लागि काजमा जनकपुरधाम बोलाइएको थियो । पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा चलाउने तयारी भइहेको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया