उपचुनाव : साढे २ बजेसम्म ५५ प्रतिशत मतदान सम्पन्न

 मंसिर १४, २०७६ शनिबार १४:५३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि चलिरहेको मतदानअन्तर्गत दिउँसो साढे २ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ ।

अहिलेसम्म ५५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मतदान भैरहेका क्षेत्रबाट निरन्तर तथ्याङ्क आइरहेको छ ।

३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

उपचुनाव अन्तर्गत कास्की २ मा प्रतिनिधि सभाका लागि मतदान भैरहेको छ । त्यस्तै प्रदेश सभातर्फ भक्तपुर १(क), बागलुङ २(ख) र दाङ ३(ख) मा पनि मतदान भैरहेको छ ।

धरान उपमहानगरपालिकाको मेयर, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि मतदान भैरहेको छ ।

अरु विभिन्न पालिकामा गरी ४३ वडाअध्यक्ष पदमा पनि उपचुनाव भैरहेको छ । छिटफूट घटना बाहेक अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया