भक्तपुरमा उत्साहजनक रुपमा मतदान, मतगणना आजै सुरु गर्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

 मंसिर १४, २०७६ शनिबार १५:२२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुर क्षेत्र नम्बर १ (क) मा प्रदेश सभा सदस्यको लागि भएको उपचुनावमा उत्साहजनक रुपमा मत खसिरहेको छ । बिहानभन्दा मध्याह्नपछि मतदान गर्ने मतदाताको बाक्लो उपस्थिति रहेको छ । 

भक्तपुर क्षेत्र नम्बर १ (क) मा चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० मा शान्तिपूर्ण रुपमा मतदान भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपचुनावका लागि २२ मतदान स्थल र ५४ मतदान केन्द्र तोकिएको छ । दिउँसो साढे २ बजेसम्म ४० प्रतिशत मत खसेको कार्यालयले जानकारी दिएको छ । 

नगरकोट वडा कार्यालयको मतदान केन्द्रमा बिहानैदेखि नै मतदाता आएको र मध्याह्नसम्म उत्साहजनक रुपमा मतदान भैरहेको स्थानीय सोम शर्मा बजगाईँले जानकारी दिनुभयो । त्यस्तै श्रीकृष्ण मावि खरिपाटीमा बिहन १० बजेसम्म मतदाताको कम सहभागिता भए पनि मध्याह्नपछि मतदाताको संख्या बढेको स्थानीय मनोज गिरीले बताउनुभयो । 

यता चाँगुनारायण नगरपालिकाको ताथलीको गणेश मावि मतदान केन्द्रमा बिहानैदेखि उत्साहजनक रुपमा मतदान भैरहेको छ । 

उम्मेदवारमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डि.पी. ढकालले बिहान ७ः३० बजे भक्तपुर नगरपालिका १० को सरस्वती विद्यागृहको मतदान केन्द्रमा मतदान गर्नुभयो भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले ११ बजे चाँगुनारायण मावि मतदान केन्द्रमा मतदान गर्नुभयो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रदेखि मतगणनास्थलसम्मको अनुगमन गर्नुभएको छ । उहाँले चाँगुनारायण २ को दुवाकोट वडा कार्यालयको मतदान केन्द्र, वडा नम्बर ३ झौखेल वडा कार्यालयको मतदान केन्द्र, भक्तपुर वडा नम्बर १० को सरस्वती विद्यागृहको मतदान केन्द्रको अवलोकन गर्नुभएको हो ।  

अनुगमनपछि उहाँले शान्तिपूर्ण रुपमा उपचुनाव सुरु भएको र मतदाताको उत्साह देखेर आफू खुशी भएको बताउनुभयो । 

उहाँले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधानलाई मतदानमा सुरक्षा व्यवस्था मजबुत भएको बताउँदै मतगणना आजैबाट सुरु गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘मतगणना आजैबाट सुरु गर्नुस्, नजिता छिटो दिनुपर्छ ।’

२१ हजार नौ सय ३५ पुरुष र २३ हजार ८० महिला गरी जम्मा ४५ हजार १५ मतदाता रहेको क्षेत्रमा उपचुनावका लागि नौ वटा दलका नौ जना उम्मेदवार र १० जना स्वतन्त्र उम्मदेवार गरी १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया