मटकोर पर्व सम्पन्न, आइतबार राम–जानकी विवाह उत्सव

 मंसिर १४, २०७६ शनिबार १६:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – राम–जानकी विवाह महोत्सव कार्यक्रमअन्तर्गत जनकपुरधाममा शनिबार मटकोर विधि सम्पन्न भएको छ ।

धनुषा – वैवाहिक कार्यक्रमको वेदी, मडवा र लावा भुट्ने चुल्होका लागि प्रयोग हुने माटोका लागि पवित्र सरोवर गंगा सागरबाट माटो खनेर मटकोर विधि सम्पन्न गरिएको हो । 

त्रेता युगमा राम–जानकीको विवाह सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधामको जानकी मन्दिरले विवाह पञ्चमी महोत्सव मनाउँदै आएको छ ।

बाजागाजाका साथ मैथिली वैवाहिक गीत गाउँदै जानकी मन्दिरबाट निस्केको टोली नगर परिक्रमा गर्दै गंगा सागरमा माटो खनेर पुनः जानकी मन्दिरमै पुगेका थिए ।

मटकोरको अवसरमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव, सहायक महन्त रामरोशन दास वैष्णवको समेत उपस्थिति रहेको थियो । वैदिक मन्त्र उचारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले राम–जानकी विवाहको वेदी तयार गर्ने चलन रहेको छ ।

विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पाँचौ दिन मटकोर विधि सम्पन्न गरिएको हो । आइतवार विवाह उत्सव मनाइनेछ भने सातौँ अर्तात अन्तिम दिन रामकलेवासहित जन्तीको बिदाइ गरी विवाह महोत्सव सम्पन्न हुनेछ ।

पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ र चोथौ दिन तिलकोत्सव मनाइन्छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया