‘विदेश गएपछि त जसरी नि पैसा बचाउनुपर्छ भन्ने हुन्छ’

 मंसिर १४, २०७६ शनिबार १७:११:५१ | मेरो कथा मेरो भोगाई

काठमाण्डौ – मेरो नाम बिनोद श्रेष्ठ हो । उमेर २५ वर्ष भयो । काठमाण्डौको स्वयम्भूमा मेरो घर पर्छ । सानोमा पढाइ गर्न पाइएन । ३ कक्षासम्म मात्र पढें । उमेर बढ्दै गयो । कमाउनुपर्छ भन्ने लाग्यो । आखिर काम नगरेर खान पनि त पुग्दैन नि । बुवाआमालाई कति दुःख दिने भनेर मैले विदेश जाने र टन्नै कमाउने सोच बनाएँ ।

हुन त विदेश किन गएको, नेपालमै काम छ नि भन्लान् । तर नेपालमा डिग्री गरेकाहरु त बेरोजगार छन्, म झन् तीन कक्षा मात्र पढेकोलाई कसले काम दिन्छ र ? त्यही भएर म सन् २०१६ मा मलेसिया गएँ ।

त्यतिबेला म्यानपावरलाई १ लाख ५० हजार दिएर मलेसिया गएको थिएँ । उता गएर  म्यानपावरले भनेजस्तै काम पाइयो । टायर बनाउने कम्पनीमा काम थियो । टायर प्याकिङ गर्नुपर्ने काम थियो । कमाइ पनि ठिकै थियो । महिनाको १८ सय रिंगिट तब थियो । काम भने पुरै १२ घण्टा खट्नुपथ्र्यो ।

सुरुमा त काम सजिलै थियो । १२ घण्टा खटे पनि धेरै भार पर्दैन थियो । तर म त्यहाँ काम गर्न थालेको एक वर्षपछि कम्पनीका मेसिन बिग्रिए । मेसिनले गर्ने काम पनि कामदारलाई लगाउन थाल्यो । दुःख बढी हुन थाल्यो । स्वास्थ्य समस्या होला जस्तै भयो । अनि म कम्पनीबाट भागेँ । 

मलेसियामा १६ महिना बसेर म नेपाल फर्किएँ । मलेसिया काम गरेर धेरै त कमाइएन तर जाँदाको ऋण तिरियो । केही घर खर्च चलाएँ । धेरै बसेको भए त राम्रै कमाउँथें होला । 

त्यहाँबाट फर्केर नेपाल आएपछि पेन्टिङको काम गर्न थालेँ । मेरो घर भएको क्षेत्रतिरै घरमा रङ्ग लगाउने काम गरेँ । कहिले ठेक्का लिएर त कहिले दैनिक ज्यालामा पनि काम गरेँ ।

दश बजेदेखि पाँच बजेसम्म पेन्टिङ गरेको १२ सय रुपैयाँ कमाइ हुन्छ । कमाइ त राम्रै हो तर सधैँ काम पाइँदैन । महिनामा २० दिनजति मात्र काम हुन्छ । कहिले चाडपर्व कहिले बन्द यस्तै त हो नेपालमा एकोहोरो काम नै हुँदैन । एकोहोरो काम भएन भने पैसा बचत गर्नै सकिंदैन ।

फेरि यहाँ साथी भाइहरु भेट भइरहन्छन्, जति बचाउन खोजे पनि खर्च भइहाल्छ । खल्तीमा पैसा नै बच्दैन । त्यही भएर पनि विदेश जान खोजेको हो ।

यहाँ हुँदा आफ्नै घरमा बसिरहेको छुु, काम गर्न नगए नि भोकै त मर्दैनन् नि भन्ने सोच हुन्छ र अल्छी लाग्छ । तर विदेशमा गएपछि त काम गर्न मन लागेन भनेर हुँदैन, जसरी नि गर्नै पर्छ । साथीभाइ भेटिने र खर्च हुने पनि हुँदैन, चोखो बचत गर्न सकिन्छ ।

यहाँ कम्पनीमा ढुक्कसँग महिनाको २५/३० हजार रुपैयाँ कमाउन सकिने भए त को जान्थ्यो र विदेश । आफैंले केही व्यवसाय सुरु गरौँ भने दुःख धेरै हुने, कमाई थोरै हुने । त्यही भएर मैले फेरि विदेश जाने सोच बनाएको हो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया