साग महिला भलिबल : श्रीलंकालाई हराउँदै नेपालले इतिहास रच्याे

 मंसिर १४, २०७६ शनिबार २१:३२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले ऐतिहासिक पदक जित्ने पक्का भएको छ ।

पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिमले कम्तीमा रजत पक्का भएको छ । नयाँ इतिहास बनाउने क्रममा नेपालले श्रीलंकालाई तीन-शून्यको सोझो सेटमा हरायो ।

नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पार्ने निश्चित भएको छ । यसअघि कास्य पदकभन्दा माथिल्लो सफलता हात पार्न नसकेको नेपालले यो संस्करणमा स्वर्ण वा रजत जित्ने पक्का भएको छ ।

त्रिपुरेश्वर स्थित कर्भडहलमा नेपालले श्रीलंकामाथि २५-१४, २५-१८ र २५-२१ काे सेटमा जित निकाल्याे । नेपालले  पहिलो सेट २५–१४ को सेटमा जित्यो । सुरुवातमा केही तालमेल नमिलेको नेपालले विस्तारै आफ्नो लयलाई समात्यो । एक समय १३–८ ले अगाडि रहेको नेपालले आफ्नो अग्रतालाई कायमै राख्दै २४–१४ मा पुर्‍याएको थियो । त्यसपछि अरु एक अंक थप्दै नेपालले पहिलो सेट २५–१४ ले जित्यो ।

दोस्रो सेटमा पनि सुरुवातदेखि नै अग्रता बनाएको नेपालले श्रीलंकालाई १८ अंक भन्दा अगाडि जान दिएन । निकै उत्कृष्ट खेल खेलेको नेपाली महिला टिमले दोस्रो सेट २५–१८ ले जित्यो ।

नेपालभन्दा केही कमजोर दखिएको श्रीलंकाले तेस्रो सेटमा भने केही सुधारिएको प्रर्दशन गर्‍याे । उसले तेस्रो सेटमा एक समय ११–११ को बराबरी गरेको थियो । त्यसपछि पनि सेटमा तीव्र प्रतिस्पर्धा भएको थियो । तर नेपालले आफनो लयलाई कायम राख्दै खेल २१–१७ मा पुर्‍यायाे । अन्ततः नेपालले सेट २५–२१ ले जित्यो ।

नेपालले यसअघि सागमा तीन पटक कास्य जितेको थियो । जसमा १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो । अब उपाधिका लागि नेपाली महिला टिमले भारतसँग खेल्नेछ । यसअघि नेपाल भारतसँग पराजित हुँदा समूह उपविजेता बनेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया