३९ वडाको नतिजा सार्वजनिक : नेकपा २२ ठाउँमा विजयी, केही ठाउँमा परिणाम उल्टियो

 मंसिर १५, २०७६ आइतबार १०:१६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार भएको उपचुनावको मतपरिणाम धमाधम आइरहेको छ । पालिकाका ४३ वटा वडामध्ये ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी नेपालका तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

यसअघिको चुनावको परिणाम हेर्दा केही ठाउँमा नतिजा उल्टिएको छ । सत्तारुढ नेकपाले बैतडी, दाङ, चितवन, सर्लाही, अर्घाखाँची, पाँचथरका का गरी ६ वटा वडा गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यस्तै कांग्रेसले यसअघि जितेका बाँके, अछाम, बाजुरा, सिन्धुपाल्चोक, सिरहा र पाँचथरमा नेकपा विजयी भएको छ ।

सत्तारुढ नेकपालाई सबैभन्दा ठूलो झड्का चितवनमा लागेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनका तीनवटा वडामा नेकपाका सबै उम्मेदवार पराजित भएका छन् । यसअघि एमालेले एक्लैले जितेका वडामा समेत कांग्रेस विजयी भएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४, वडा नम्बर ५ र भरतपुर महानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष पदमा भएको चुनावमा कांग्रेस उम्मेदवारहरु विजयी भएका छन् । प्रचण्डको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी हुनुभएको हो । उनले नेकपाका उम्मेदवारलाई ३०८ मतको अन्तरले पराजित गर्नुभएको हो । 

दाङको घोराही १६ मा यसअघि नेकपाले जितेकोमा अहिले कांग्रेस विजयी भएको छ । यसअघि नेकपा विजयी भएको अर्घाखाँचीका मालारानी ३ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेकपाले जितेको सर्लाही हरिपूर्वा १ मा समाजवादी पार्टी विजयी भएको छ । यसअघि राजपाले जितेको रौतहट गढीमाई २ मा कांग्रेसले जितेको छ ।

यसअघि कांग्रेसले जितेको बाजुराको त्रिवेणी गाउँपालिका १ मा नेकपा विजयी भएको छ ।

यस्तै यसअघि कांग्रेसले जितेको पाँचथरको फिदिम १ मा नेकपा र तत्कालीन एमालेले जितेको हिलिहाङ–७ मा कांग्रेस विजयी भएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया