उपचुनाव : नेकपा र कांग्रेसलाई कहाँ फाइदा भयो, कहाँ घाटा ?

 मंसिर १५, २०७६ आइतबार १३:४१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार भएको उपचुनावअन्तर्गत एउटा प्रदेश सभा र ३९ वटा वडाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई केही ठाउँ फाइदा भएको छ भने केही ठाउँ चाहिँ गुमाउनु परेको छ ।

प्रदेश सभामा सत्तारुढ नेकपाको एउटा सिट गुमेको छ । कांग्रेसले एक सिट थपेको छ । उपचुनाव भएको तीन प्रदेश सभामध्ये भक्तपुर १ (क) को नतिजा सार्वजनिक भएको छ । यहाँ कांग्रेसका कृष्णलाल भँडेल विजयी हुनुभएको छ । अघिल्लो चुनावमा यो प्रदेशबाट तत्कालीन एमाले विजयी भएको थियो ।

पालिकातर्फ पनि सत्तारुढ नेकपाले ७ वटा वडा गुमाएको छ । नेकपाले पाँचथरको हिलिहाङ ७, मोरङको धनपालथान २, सर्लाहीको हरिपुर्वा १, चितवनको भरतपुर १६, अर्घाखाँचीको मालारानी ३, दाङको घोराही १६ र बैतडीको दोगडाकेदार ४ को वडाध्यक्ष गुमाएको हो ।

यसअघि जितेका ७ वटा वडा गुमाए पनि नेकपाले यसअघि अरुले जितेका थप ८ वटा वडा आफ्नो पक्षमा पारेको छ । नेकपाले रोल्पाको थवाङ १ सहित पाँचथरको फिदिम १, भोजपुरको पौवादुम्मा १, सिरहाको कल्याणपुर १२, सिन्धुपाल्चोकको इन्द्रावती ८, बाँकेको कोहलपुर ६, अछामको मेल्लेख ५ र बाजुराको त्रिवेणी १ मा जितेको छ ।

यस्तै यसअघि नेकपाले जितेका ६ र राजपाले जितेका १ ठाउँको वडाध्यक्ष आफ्नो पक्षमा पार्न सफल भए पनि कांग्रेसले ८ वटा वडा गुमाएको छ । कांग्रेस पाँचथरको फिदिम १ पाँचथर, भोजपुरको पौवादुम्मा १, सिरहाको कल्याणपुर १२, सिन्धुपाल्चोकको इन्द्रावती ८, बाराको बारागढी १, बाँकेको कोहलपुर ६, बाजुराको त्रिवेणी १ र अछामको मेल्लेख ५ मा पराजित भएको हो ।

यसअघिको चुनावमा पराजित भए पनि कांग्रेसले उपचुनाव जितेका वडाहरुमा पाँचथरको हिलिहाङ ७, मोरङको धनपालथाम २, रौतहटको गढीमाई २, चितवनको भरतपुर १६, अर्घाखाँचीको मालारानी ३, दाङको घोराही १६ र बैतडीको दोगडाकेदार ४ छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया