अस्पतालबाटै प्रधानमन्त्रीको भिडियो सन्देश : समाचार पढ्न सक्ने भएको छु, सागको उद्घाटन सबै हेरेँ

 मंसिर १६, २०७६ सोमबार १६:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था राम्ररी अघि बढेको र सुधार भैरहेको बताउनुभएको छ ।

शिक्षण अस्पतालबाटै भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले अचानक एपेन्डिसाइटिस लागेको र त्यसले बाहिर पनि संक्रमण फैलँदा समस्या भएको बताउनुभएको छ ।

उहाँले आफू हप्ता-१० दिनको उपचारको क्रममा रहेको र अहिले मुख्य अप्रेसनपछि पनि बोल्न सक्ने भएको, समाचार पढ्ने, साथीसँग कुरा गर्न सक्ने अवस्थामा रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘मैले हिजो सागको उद्घाटन समारोह पुरै हेरेँ, हुन्छ कि हुँदैन भन्ने द्विविधाका बीचमा पनि पनि राम्ररी सम्पन्न भयो । उद्घाटनका लागि राष्ट्रपतिज्यूलाई र अन्य सबैलाई धन्यवाद । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अघि बढाउन र क्षेत्रीय मित्रता बढाउन नेपाली र सार्कका सबै खेलाडीलाई आग्रह गर्दछु ।’

पढ्नुहाेस् प्रधानमन्त्रीकाे सन्देश

एपेण्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु । 

हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया