१३औँ साग : लन टेनिसमा नेपाली महिला र पुरुष दुवै टाेली सेमिफाइनलमा

 मंसिर १६, २०७६ सोमबार १८:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - दक्षिण एसियाली खेलकुदअन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् ।

सातदोबाटोस्थित लन टेनिस कोर्टमा आज भएको क्वार्टरफाइनलको खेलमा नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले ३–० को सहज जित निकालेको हो । पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए । त्यस्तै संरक्षक बज्रचार्यले श्री अमोल रोयलाई हराए ।

पहिलो सेटमा २–६ को पराजय भोगेका संरक्षकले दोस्रो सेटमा ६–२ को जित निकाले । अन्तिम सेटमा रोय घाइते भएपछि प्रवणले जित निकाल्दै डबल्स अगावै नेपाललाई सेमिफाइनलमा पुर्‍याए । डबल्समा नवीन पाइजा र प्रदीप खड्काको जोडीले सोझो सेटमा जित निकाल्दै नेपाललाई ३–० को जित दिलाए । अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ । पुरुषतर्फ भुटान पनि सेमिफाइनलमा पुग्यो । भुटानले माल्दिभ्सलाई ३–० ले नै हरायो ।

सिंगल्सतर्फ पेमा नोर्बुले अबदुल्ला फजिललाई ७–६(५), ५–५ (रिटायर्ड) को सेटमा हराए । त्यस्तै तान्डिन वाङ्चुकले इग्नाज मन्सुरलाई ६–२ र ६–४ ले हराए । डबल्समा निदुप ग्याछेन र पेमा नोर्बुको जोडीले नाजिफ हुसेन र इग्नाज मन्सुरको जोडीलाई ४–६, ६–४ र ७–६(३) ले हराए ।

भुटानले सेमिफाइनलमा पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले श्रीलंकालाई २–१ ले हरायो । सिंगल्सतर्फको पहिलो खेलमा अइसम उल हक कुरेसीले शर्मल दिसानायकेलाई ६–७(५), ६–४ र ६–४ ले हराए ।

दोस्रो सिंगल्समा श्रीलंकाका दिनेश कान्तन थरंगराजले अकिल खानलाई ६–१ र ६–० ले हराउँदा बराबरी भयो । डबल्सतर्फ भने मुहम्मद अबिद र मुजामिल मुर्ताजाको जोडीले सुरेन बालाचन्द्रन र निलाविरा चतुर्या डानिदुको जोडीलाई ६–३ र ६–३ ले हराएपछि पाकिस्तान पनि सेमिफाइनलमा पुग्यो । महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगे ।

नेपालले माल्दिभ्सलाई ३–० ले हरायो । सिंगल्समा सलोनी तामाङले आयानी मुसा कलिमलाई ६–४ र ६–० ले हराइन् । अर्को सिंगल्समा प्रेरणा कोइरालाले जिना अब्दुर रसिदलाई ६–१ र ६–३ ले पराजित गरिन् । डबल्समा रायना शाह र प्रकृति श्रेष्ठको जोडीले रिफ्गा युसुफ नजिब र मारियम हस्मा हजिबलाई ६–३ र ६–३ ले हराइन् ।

श्रीलंकाले बंगलादेशलाई ३–० ले हरायो । अनिका सिनेभिरत्नेले जरिन सुल्ताना जोलीलाई ६–२ र ६–३ ले हराइन् । त्यस्तै अञ्जलिका कुरेराले रिन्भी अक्थर तृप्तीलाई ६–० र ६–१ ले हराइन् । डबल्सतर्फ अलाना सेनेभिरत्ने र रुक्सिका विजसुर्यको जोडीले इशिता अफ्रोस र सुस्मिता सेबको जोडीलाई ६–३ र ६–१ ले हराए ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया