शिकार र पोथीको खोजीमा १३०० किलोमिटरको यात्रा

 मंसिर १८, २०७६ बुधबार ९:१०:४१ | एजेन्सी
unn.prixa.net

भारतमा एउटा बाघले पाँच महिनाको अवधिमा १३०० किलोमिटर यात्रा गरेको छ । भारतमा रेकर्ड भएकामध्ये बाघको यो यात्रा अहिलेसम्मको सबैभन्दा लामो रहेको बताइएको छ ।

साढे दुई वर्षको यो बाघ आफ्नो लागि अनुकुल क्षेत्र, पोथीको खोजी वा शिकारका लागि भौँतारिएको हुन सक्ने विज्ञहरूको अनुमान छ ।

पूर्ण रूपमा वयस्कसमेत भइनसकेको यो बाघ भारतको महाराष्ट्रमा रहेको एउटा वन्यजन्तु आरक्षबाट गएको जुन महिनामा हिँडेको थियो । बाघको घाँटीमा जडान गरिएको रेडिओ कलर उपकरण (हिँडडुल अनुगमन गर्ने उपकरण) ले उपलब्ध गराएको विवरणका आधारमा उसको गतिविधि पत्ता लागेको हो ।

महाराष्ट्रको तिपेश्वर वन्यजन्तु आरक्षमा रहेको यो बाघको नाम ‘सी–वन’ दिइएको छ । यही आरक्षमा ‘टी–वन’ नामक बघिनीले जन्माएको तीन डम्मरुमध्ये यो एक हो ।

गएको फेब्रुअरी महिनामा ‘सी–वन’को शरीरमा रेडियो कलर जडान गरिएको थियो । जुन महिनामा उसले यो आरक्ष छोडेको थियो । त्यसपछि यो बाघले महाराष्ट्रको सात ओटा जिल्ला र तेलंगनाको यात्रा गरेको थियो ।

गएको साता यो बाघ महाराष्ट्रको अर्को वन्यजन्तु आरक्षमा देखिएको थियो ।

–बीबीसी हिन्दीबाट

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया