नेकपा सचिवालय बैठककाे निर्णय : प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण चिकित्सकको परामर्शमा

 मंसिर १८, २०७६ बुधबार १४:३:० | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको सचिवालय बैठकले उहाँको मिर्गाैलाको डायालाइसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले  बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

'महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा  प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ, उहाँले भन्नुभयो ।

'मिर्गौलाको आवश्यकताअनुसार डायलाइसिसको प्रक्रिया पनि जारी रहेको छ । यसपछि के गर्ने भन्ने कुरा  उपचारको प्रक्रियाबाट पुरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ', प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मंसिर १० गते केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । सचिवालय बैठकमा हालै सम्पन्न भएको उपचुनावमा समीक्षा तल्लो तहका कमिटीबाट समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि मात्र गर्ने निर्णय गरेको छ ।

'अहिलेसम्म औचपारिक रुपमा कहीँबाट पनि घात अन्तरघातको जानकारी प्राप्त भएको छैन तर औपचारिक समीक्षा आगामी बैठकबाट चुनावमा भएका जिल्ला, स्थानीय तह र वडा कमिटीले पठाएको समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि गर्ने छौँ', प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे ।

ती कमिटीलाई बैठकले प्रतिवेदन पठाउन निर्देशनसमेत दिएको छ । नेकपाले सचिवालयको अर्को बैठक आउँदाे मंसिर २३ गते बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा राखेको छ ।

बैठकमा उपचुनावको औपचारिक समीक्षा, पार्टी सङ्गठनात्मक एकीकरणको बाँकी कामबारे छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउने बारेमा आवश्यक निर्णय लिने छ ।

दाङ घोराही उपमहानगरपालिका विद्रोही उम्मेदवार उठेकालाई तत्कालै कारबाही गरेर निष्कासन गरेको उहाँले जानकारी गराउनुभयो । नेकपाले यही मंसिर १४ गते भएको उपचुनावमा आफूले पहिले जितेको धरान उपमहानगरपालिकाको मेयर र भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्य गुमाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया