रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ : उपाध्यक्ष ढकाल

 मंसिर १८, २०७६ बुधबार १८:२१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल देशको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको महसुस यस क्षेत्रले गरेको बताएका छन् ।

बुधबार काठमाण्डाैमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘औद्योगिक सम्बन्धका मुख्य पक्षहरु रोजगारदाता र ट्रेड युनियनको सोचाइ र व्यवहारमा सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध बलियो र दिगो बनाउन सक्छ ।’

उहाँले यस किसिमको सोचले देशमा औद्योगिक प्रवर्द्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने भन्दै यस सम्बन्धलाई थप बलियो र भरपर्दाे बनाउन अझै थप सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले रोजगारदाता र ट्रेड युनियनहरुले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका र आफूहरुले पनि यही रुपमा व्यवहार गरिरहेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनहरुले लामो समय सहकार्य गरेको स्मरण गर्दै हाल यी महत्वपूर्ण कानुनको कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिए पनि एकले अर्काेलाई दोष दिएर नभई व्यवहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

उपाध्यक्ष ढकालले भन्नुभयो, ‘श्रम सम्बन्ध विभिन्न आरोह अवरोह पार गर्दै हालको अवस्थामा आइपुगेको हो र विगतको असहज परिस्थिति र अप्ठेरोहरु पनि हामीले भोगेकोले आगामी दिनहरुलाई सहज बनाउँदै लैजानुपर्छ ।’

आफूहरु असल श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गर्ने उद्देश्यका साथ निरन्तर सहकार्य गर्दै आएको उहाँले बताउनुभयो । ‘श्रम सम्बन्धलाई अझ प्रगाढ बनाउन कहाँ र कस्तो कानुनी र नीतिगत सुधार आवश्यक छ, हामी सँगै अघि बढ्न तयार छौँ’, उहाँले भन्नुभयो ।

साथै ढकालले भरपर्दाे श्रम सम्बन्ध विकासका लागि आवश्यक कानुन र नीतिमा सुधार गर्ने काममा आफूहरु लागि परेको पनि बताउनुभयो । विगतमा भएको सहमति र सहकार्यलाई देशको औद्योगिक क्षेत्रले नबिर्सेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘परिवर्तनलाई आत्मसाथ गर्न सजिलो हुदैन, मुलुकमा थप लगानी आर्कषण गरी स्वदेशमै  बढीभन्दा बढीलाई रोजगारीका अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यता राखी हामिले काम गरिरहेका छौँ । यसमा ट्रेड युनियनको तर्फबाट रचनात्मक एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने हामीले अपेक्षा गरेका छौँ ।’

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया