नारायणगाेपाल स्मृति सम्मान गजमेर र थापालाई : गीतगंगा भवनको शिलान्यास

 मंसिर १९, २०७६ बिहिबार १४:५३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापालाई स्वरसम्राट स्मृति सम्मान २०७६ बाट सम्मानित गरिएको छ । 

स्वरसम्राट नारायण गोपालको २९ औें स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोषले गजमेर र थापालाई जनही २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मानित गरेको हो । थापालाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

गजमेर भने कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो । उहाँ काम विशेषले बाहिर भएकाले कार्यक्रममा अनुपस्थित रहनुभएको कोषले जनाएको छ ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले स्वरसम्राट नारायण गोपालको स्मृतिसभामा सहभागी हुन पाउनु आफ्नो सौभाग्य भएको बताउनुभयो । सुख र दुःखमा मात्रै नभएर फुर्सद मिलाएर जुनसुकै समयमा पनि मन्त्रालयमा भेट्न आउन अनुरोध गर्दै उहाँले घरपरिवारको बीचमा गाह्रो हुँदा समेत सम्झिन आगह गर्नुभएको छ ।

कोषको नयाँ निर्माण हुने भवनको शिलान्यास समेत गरिएको छ । महानगरका प्रमुख शाक्यले भवनको शिलान्यास गर्नुभएको हो ।

कालजयी गीतका सर्जक तथा जादूमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाण्डौमा भएको थियो ।

उहाँको विक्रम सम्वत २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएकाे थियाे । नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट बिदा हुनुभएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया