१३ औँ साग : नेपाल‍ी महिला क्रिकेट टाेली श्रीलंकासँग पराजित, स्वर्णकाे सम्भावना समाप्त

 मंसिर २०, २०७६ शुक्रबार १४:५५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा नेपालले दोस्रो हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भयो ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका महिला टिमले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १८ रन बनायो । नेपालविरुद्ध सुरुवात राम्रो गर्न नसकेको श्रीलंकाले सात रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ४२ रनमा दोस्रो विकेट खेर फालेको श्रीलंकाकाे ५७ रन हुँदा चार विकेट झारेको थियो । तर त्यसपछि लिहिनी अप्सरा र सत्या सन्दिपनीले अर्धसतकीय साझेदारी गर्दा श्रीलंकाको पारी सम्हालिएको थियो ।

उसका लागि ओपनर उमिसा थिमासिनीले दुई रन बनाइन् भने जनदी अनालीले ३५ रनको योगदान गरिन् । यस्तै कप्तान हर्षिथा माधवीले १६ रन बनाइन् ।

यस्तै लहिनीले ३७ रनको योगदान गर्दा सत्याले २२ रनको योगदान गरिन् ।

नेपालका लागि बलिङमा सरस्वती कुमारी र सोनु खड्काले दुई दुई विकेट लिए । जवाफमा नेपालले २० ओभरमा नौ विकेट गुमाउँदा मात्र ७७ रन बनाउन सक्यो ।

नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

नेपालले आजकाे खेलमा निकै खराब सुरुवात गर्यो । चार रनमा पहिलो विकेट गुमाएको नेपालले चार रनमा नै दोस्रो तथा १४ रनमा तेस्रो विकेट खेर फाल्यो । नेपालका कुनै खेलाडीबीच दरिलो साझेदारी हुन सकेन । २७ रनमा तेस्रो विकेट खेर फालेको नेपालले ३७ रनमा पाँचौ विकेट गुमायो ।

नेपालका सुरुवाती तीन खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । काजल श्रेष्ठ ८ रनमा आउट भइन् भने सिता रानामगर र इन्दु बर्माले खाता खोल्न सकेनन् ।

यस्तै कप्तान रुविना क्षेत्रीले १९ रन बनाउँदा सोनु खड्का मात्र एक रनमा आउट भइन् । करुणा भण्डारी १२ रनमा पेभेलियन फर्किँदा अप्सरी बेगमले ११ रनको योगदान गरिन् । त्यसपछि डली भट्टले खाता खोल्न सकिनन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया