लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अघिल्लो संस्करणमा पुरुषतर्फका स्वर्ण विजेता कमलबहादुर अधिकारी जारी संस्करणमा कास्य पदकमा सीमित भए ।
पोखरामा शुक्रबार भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कुल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कुल २५२ केजी तौल उठाएका हुन् ।
पाकिस्तानी र श्रीलंकन खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लीन एण्ड जर्कमा दबाबमा परेका थिए ।
प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १५२ गरी कुल २९२ केजी तौल उठाउँदै स्वर्ण जिते । यस्तै श्रीलंकाका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लीन एण्ड जर्कमा १४४ गरी कुल २६३ केजी तौल उठाउँदै रजत जितेका छन् ।
प्रतियोगितामा पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट वीरबहादुर लिम्बु चौथो भए ।
यस्तै महिला भारोत्तोलनमा नेपालकी देवीकुमारी चौधरीले कास्य पदक जितेकी छिन् । ६४ किलो तौल समूहमा उनले स्न्याचमा ६८ तथा क्लिन एण्ड जर्कमा ८५ किलो गर्दै जम्मा १५३ केजी तौल उचाल्दै कास्य पदक जितेकी हुन् ।
यो स्पर्धामा भारतीय खेलाडीले स्वर्ण र श्रीलंकाकी खेलाडीले रजत पदक जिते ।
शुक्रबार नै पुरुष ७३ केजी तौल समूहमा भएको स्पर्धामा नेपालका प्रकाश केसीले पनि कास्य पदक जितेका छन् । प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जिते ।