१३औँ साग : आज १८ खेल हुँदै, पुरुष फुटबलमा नेपाल माल्दिभ्ससँग र महिला फुटबलमा भारतसँग खेल्दै

 मंसिर २१, २०७६ शनिबार ७:४४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार १८ वटा खेलहरु हुँदैछन् । ती खेलहरु काठमाण्डौ उपत्यकाका साथै पोखरा र जनकपुरमा जारी छन् ।

शनिबार एथ्लेटिक्स, आर्चरी, फुटबल, क्रिकेट, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ, सुटिङ, टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्सिङ, भारत्तोलन र फेन्सिङमा प्रतिस्पर्धा हुने छ । शनिबार एथ्लेटिक्सअन्तर्गत म्याराथन हुँदैछ ।

सागमा कुस्ती खेल जनकपुरमा शुक्रबारदेखि सुरु भएको छ भने महिला फुटबल, महिला क्रिकेट, आर्चरी, बिच भलिबल र ह्याण्डबल यसअघि नै पोखरामा सुरु भइसकेका खेल हुन् ।

फुटबलमा शनिबार नेपालले माल्दिभ्ससँग दिउँसो साढे १ बजे खेल्ने छ । यस्तै पोखरामा नेपाली महिला फुटबल टिमले भारतसँग चार बजे प्रतिस्पर्धा गर्ने छ । दुवै टिम फाइनल पुगिसकेकाले आजको खेलको नतिजाले केही प्रभाव पार्ने छैन् । नेपाल र भारतबीचकाे महिला फुटबल समूह चरणकै खेल हाे । तर दुवै टिम एक खेलअगावै फाइनल पुगिसकेका हुन् ।

क्रिकेटमा आज नेपालले बंगालदेशको यु-२३ टिमसँगै प्रतिस्पर्धा गर्दैछ । क्रिकेट खेल बिहान ९:४५ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । जुडो प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया