टेनिसमा नेपाललाई पाँच काँस्य, भारतलाई सातमध्ये ६ स्वर्ण पक्का

 मंसिर २१, २०७६ शनिबार १९:४८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद अन्तर्गत टेनिसमा नेपालले पाँचवटा काँस्य पदक जितेको छ । 

सातदोबाटोमा रहेकाे लनटेनिस कोर्टमा शनिबार भएका तीन वटा विधाको सेमिफाइनलमा पराजित भएसँगै नेपाली खेलाडी काँस्यमा सीमित बनेका हुन् । यसअघि नेपालले टिम इभेन्टको महिला र पुरुषतर्फको विधामा काँस्य पदक जितेको थियो ।

शनिबार भएको महिला सिंंगल्सको सेमिफाइनलमा प्रेरणा दोस्रो वरीयताकी भारतीय खेलाडी सत्विका समासँग ६–० र ६–० ले पराजित भइन् । समाले स्वर्ण पदकका लागि आफ्नै देशकी सौजन्या भाबिसेट्टीसँग प्रतिष्पर्धा गर्नेछिन् । भाबिसेटीले सेमिफाइनलमा श्रीलंकाकी अनिका चोले सेनेभिरत्नेलाई ६–२, ७–६९४० ले हराएकी थिइन् ।

महिला डबल्समा नेपालका दुई जोडी सेमिफाइनलमा पराजित भए । प्रेरणा कोइराला र सलोनी तामाङको जोडी भारतका श्रब्या शिभानी चिलकलापुडीसँग ६–४ र ६–३ को सेटमा पराजित हुँदै कास्यमै सीमित बने । अर्को सेमिफाइनलमा अभिलाष विष्ट र आइरा मेहेमिसा रावतको जोडी भारतका प्रेरणा भाम्ब्री र प्रार्थना गुलाबराओ थोम्ब्रेको जोडीसँग ६–० र ६–० ले हारे ।

पुरुष डबल्सतर्फ श्रीयाम बालाजी नारायणस्वामी र जिवन नेदुनचिझियानको जोडीले पाकिस्तानका अकिल खान र अइसम उल हक कुरेसीको जोडीलाई ७–५ र ६–३ ले हराउँदै फाइनलमा पुगे ।

अर्को सेमिफाइनलमा भारतका विष्णुवर्दन जगदिसन र सकेथ साई मिनेनीको जोडीले पाकिस्तानका मोहम्मद अविद र मुजामिल मुर्तजाको जोडीलाई ६–३ र ६–२ ले हराउँदै फाइनलमा पुगे । 

भारतले यसअघि टिम इभेन्टको दुवै स्वर्ण पदक जितेको थियो भने पुरुष सिंंगल्स, महिला सिंंगल्स, पुरुष डबल्स र महिला डबल्सको फाइनलमा पुगेसँगै ६ स्वर्ण सुरक्षित गरेको हो । 

मिक्स डबल्समा पनि भारत र पाकिस्तानका दुई टोली सेमिफाइनलमा पुगिसकेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया