कानुनले शक्ति र पद भन्दैन, ठूलालाई पनि कानुन लाग्छ : महान्यायाधिवक्ता खरेल

 मंसिर २२, २०७६ आइतबार १६:३२:१२ | रासस
unn.prixa.net

काठमाण्डौ – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानुन नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताउनुभएको छ । 

झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आइतबार उद्घाटन कार्यक्रममा उहाँले कानुनका दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्य मान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायिक क्षेत्रमा काम भइरहेको बताउनुभयो ।

गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका र प्रतिष्ठित भनिएका व्यक्तिहरुसमेत प्रमाणका आधारमा कानुनी कारबाहीको दायरामा आइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘हामी अभियुक्तलाई उसको पद र शक्तिका आधारमा होइन, प्रमाणका आधारमा हेर्छौं ।’

उहाँले समाजमा अपराध नियन्त्रण र काननुनी राज्य स्थापनाका लागि राज्यका सबै संयन्त्र निष्पक्षतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरुले व्यक्ति पक्राउ पर्नासाथ छुटाउन जाने र भनसुन गर्ने प्रवृत्ति त्याग्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘मान्छे पक्राउ पर्नासाथ छाडिदिनुपर्‍याे भनेर जनप्रतिनिधिहरु ठूला मान्छे कहाँ धाउने गर्नुहुन्छ, यस्तो गर्नु गलत हो ।’

पश्चिम नेपालमा रहेको छाउपडी प्रथालाई प्रचलित कानुनले दण्डनीय किटान गरिसकेको जनाउँदै महान्यायाधिवक्ता खरेलले छाउपडीमा जाने र पठाउने दुवैलाई कानुनबमोजिम कारबाही हुने जानकारी दिनुभयो । 

अन्धविश्वासमा आधारित छाउपडी प्रथाका कारण महिलाहरुले ज्यानसमेत गुमाउनु परेको दुःखद् अवस्था रहेको हुँदा सरकार अन्धविश्वासविरुद्ध कठोर रूपमा प्रस्तुत हुने उहाँको धारणा थियो । 

झापा जिल्ला सरकारी वकिलको कार्यालय भवन ३ करोड ७१ लाख ९० हजार रुपैयाँको लागतमा निर्माण भएको छ । पाँच कट्ठा तीन धुर क्षेत्रफलमा सो भवन निर्माणका लागि ह्याबिटेड आशिषदीप जेभी भद्रपुरले २०७४ साल असोज ९ गते ठेक्का सम्झौता गरेको थियो । निर्धारित अवधिभन्दा पाँच महिना ढिलो भवन निर्माण सम्पन्न भएको हो । 

पीडितमैत्री बयान कक्ष, छलफल कक्ष, पुस्तकालय, अतिथि गृह, आवास गृहसहित २६ कोठा रहेको भवन प्रविधिका दृष्टिले समेत अत्याधुनिक र सुविधासम्पन्न भएको जिल्ला सरकारी वकिलको कार्यालय झापाका प्रमुख केशव पन्तले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया