भारतविरुद्धको टी २० मा वेस्टइण्डिज ८ विकेटले विजयी

 मंसिर २३, २०७६ सोमबार ७:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतविरुद्धको दोस्रो टी २० क्रिकेट वेस्टइण्डिजले जितेको छ । तिरुवन्तपुरुममा आइतबार राति भएको खेलमा वेस्टइण्डिज ८ विकेटले विजयी भएको हो । तीन टी २० सिरिजमा दुवै टिमले एक एक खेल जितेका छन् ।

भारतले पहिला ब्याटिङ गर्दै शिवम दुवेको ५४ रनको मद्दतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । १७१ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिजले १९ औं ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरको थियो ।

उसलाई जिताउन लेन्डल सिमन्सले ६७ रनको योगदान गरे । उनी म्यान अफ द म्याच पनि भएका छन् । वेस्ट इण्डिजका कपतान किरोन पोलार्डले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए । वेस्टइण्डिजको टिममा दिनेश रामदीनको ठाउँमा निकोलस पुरनलाई ल्याइएको थियो । भारतीय टिमले सुरुआत भने राम्रो गर्न सकेन । चार ओभरमा २४ रन बनाएका बेला केएल राहुल ११ रन बनाएर आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शिवम दूवेले पनि सुरुआतमा ढिला गरि रन बनाए । तर पछि जमेपछि उनले अर्धशतक भने पुरा गरे । आठौं ओभरमा टिमको स्कोर ५६ रन हुँदा रोहित शर्मा १५ रन बनाएर आउट भए । त्यसपछि दुबेले पोलार्डको एकै ओभरमा तीन छक्का प्रहार गरेका थिए । ५४ रनको पारि खेलेको दूबेले ४ छक्का तथा ३ चौका प्रहार गरेका थिए । ११ औं ओभरमा १०० रनको आंकडा पारे गरेको भारतले ९७ रन हुँदा दूबेको विकेट गुमाएको थियो ।

पहिलो टी २० मा धुवाँधार पारि खेलेका कप्तान विराट कोहली भने १९ रन बनाएर आउट भएका थिए । १४ औं ओभरमा १२० रन हुँदा विराटलाई भारतले गुमाएको थियो । १७ औं ओभरमा १४४ रन हुँदा श्रेयस अय्यर पनि १० रनमै पेभेलियन फर्किएका थिए । १९ औं ओभरमा १६४ रनहुँदा भारतले छैटौं विकेटको रुपमा रविन्द्र जडेजालाई गुमाएको थियो । वासिंगटन सुन्दर पनि खाता नै नखोली आउट भए ।

ऋषभ पन्तले २२ बलमा ३३ रन जोड्दै भारतको स्कोर निर्धारित ओभरमा १७० पुगेको थियो । वेस्टइण्डिजका तर्फबाट हेडन वाल्स जुनियर र केसरिक विलियम्सले दुई दुई तथा शेल्डन कटरेल र जोसन हेल्डरले एक एक विकेट लिए । लक्ष्य पछ्याउने क्रममा वेस्टइण्डिजले उत्कृष्ट शुरुआत गरेको थियो । पहिलो विकेटका लागि लेन्डल सिमन्स र एविन लुईसले ७३ रनको साझेदारी गरेका थिए । १० औं ओभरमा लुईस ३५ बलमा ४० रन जोडेर आउट भए ।

त्यसपछि १४ औं ओभरमा वेस्टइण्डिजले १०० रन पुरा गरेको थियो । ११२ को स्कोरमा शिमरोन हटमायरलाई गुमाएको थियो । हटमायरले २३ रन बनाए । तर लेन्डल सिमन्तले ४५ बलमा ६७ रनको नट आउट पारि खेल्दै टिमलाई जित दिलाए । उनले निकोलस पुरनसँग मिलेर ९ बल बाँकी छदै १७१ रनको लक्ष्य पुरा गरेका थिए । पुरनले १८ बलमा ३८ रन बनाएर नट आउट रहे । भारतका लागि वासिंगटन सुन्दर र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया