कुकुरको दाना बेचेर नेपालले भित्र्यायाे ४ महिनामा  ३४ करोड रुपैयाँ

 मंसिर २४, २०७६ मंगलबार १२:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चालु आर्थिक वर्षको पहिलो ४ महिनामा कुकुर र बिरालोका खाना निर्यात गरेर ३४ करोड रुपैयाँ भित्रिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार ११ देशका लागि ४ महिनामा कुकुर र बिरालोका लागि २ लाख किलो खाना तथा दाना निर्यात भएको छ । यसबाट ३३ करोड ६६ लाख रुपैयाँ आम्दानी भएको छ । भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख ७४ हजार किलो दाना निर्यात भएको छ, जसबाट २८ करोड ७० करोड रुपैयाँ भित्रिएको छ ।

यस्तै क्यानडामा १३ हजार किलो दाना पठाउँदा २ करोड २१ लाख रुपैयाँ भित्रिएको छ । दुबई, बेलायत, हङकङ, जापान, नेदरल्याण्ड्स, सिंगापुर, सियरा लियोन, थाइल्याण्ड, ताइवानलगायतका देशमा कुकुर बिरालाका लागि दाना निर्यात भएको छ । कुकुरका लागि नेपालबाट छुर्पीलगायतका खाद्यबस्तु निर्यात हुने गरेकाे छ । 

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालको वैदेशिक व्यापारमा केही सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) अवधिमा नेपालले निर्यात व्यापार वृद्धि गरेको छ ।

गएको वर्षको यही अवधिको तुलनामा यो वर्ष २३.९० प्रतिशतले निर्यात वृद्धि भएको छ । यो आर्थिक वर्षको पहिलो चार महिनामा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । गएको वर्ष यही अवधिमा २९ अर्ब २८ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको विभिन्न सामान आयात भएको छ । गएको वर्ष यही अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया