दाङकाे टिमुर पकेट क्षेत्रमा ‘टिमुर वर्ष’ कार्यक्रम सुरु : एक लाख बिरुवा उत्पादन हुँदै

 मंसिर २४, २०७६ मंगलबार १७:३३:२८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको उत्तरतर्फका छरिएर रहेका बस्तीमा टिमुर र सुगन्धकोकिला मालागेडीकाे बिरुवा उत्पादन गर्ने कार्यक्रम सुरु गरिएको छ ।

रोजगारीका लागि बाहिरिनेको संख्या बढेर गाउँ नै खाली हुन थालेपछि स्थानीयलाई स्वरोजगार बनाएर आर्थिक वृद्धि गर्ने उद्देश्यले टिमुर र सुगन्धकोकिला मालागेडी रोप्ने कार्यक्रमका लागि बिरुवा उत्पादन गर्न लागिएकाे हाे।

डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षलाई ‘टिमुर वर्ष’ का रुपमा अगाडि बढाएकाे र यस कार्यक्रम अन्र्तगत दाङ उपत्यकाको उत्तरी भेगमा रहेका पातलो ग्रामीण बस्तीमा एक लाख टिमुरका बिरुवा उत्पादन सुरु गरिएको छ ।

मसला बनाउन उपयोगी मानिने टिमुर बहुवर्षे जडिबुटी भएको र यसको बजार मूल्य पनि महंगो भएका कारण स्थानीयलाई स्वरोजगार बनाउन टिमुर रोप्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

टिमुर रोप्ने कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङको डिभिजन वन नर्सरी अम्बापुरमा ५० हजार, तुल्सीपुरको नर्सरीमा २५ हजार र नारायणपुरको वन नर्सरीमा २५ हजार टिमुरमा बिरुवा  उत्पादन सुरु गरिएको छ । तीन वटै नर्सरीमा २० हजार मालागेडीको बिरुवा उत्पादन समेत सुरु गरिएको छ ।

‘दुवै बहुवर्षे, बहुउपयोगी जडिबुटी हुन्’, डिभिजन वन कार्यालयका प्रमुख ज्ञवालीले भन्नुभयो, ‘हामीले केही वर्षमै दाङको उत्तरी भेगमा ५ लाख टिमुरका बिरुवा लगाउने गरी योजना बनाएका छौँ ।’

विस्तृत अध्ययनपछि टिमुर रोप्ने कार्यक्रम ल्याइएको डिभिजन वन कार्यालयले जनाएको छ । बिरुवा उत्पादनपछि पहिलो प्राथमिकता किसानलाई र किसानलाई पुगेपछि सामुदायिक वन र राष्ट्रिय वनको खाली जग्गामा समेत टिमुर लगाउने कार्यक्रम रहेको कार्यालय प्रमुख ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार टिमुरका बिरुवा उत्पादन, ढुवानी र रोपनसम्म प्रति बिरुवा १८ रुपैयाँ छुट्टाइएको छ । किसानले ठूलो मात्रामा उत्पादन गर्ने टिमुर र मालागेडीको बजार खोज्ने, उचित मूल्य कायम गर्ने र सहज तरिकाले

निकासीका लागि समेत डिभिजन वन कार्यालयले सहजीकरण गर्ने गरी योजना बनाइएको कार्यालयले जनाएको छ ।

दाङको उत्तरी भेगमा पर्ने बंगलाचुली गाउँपालिका, घोराही र तुल्सीपुर उपमहानगरपालिकाका उत्तरी गाउँमा अहिले पनि किसानले आफ्नो र वनमा प्राकृतिक रुपमै टिमुर उत्पादन गर्दै आइरहेका छन् । माथिल्लो क्षेत्रलाई टिमुरको पकेट क्षेत्र बनाएर दीर्घकालीन स्वरोजगारी सिर्जनाका लागि काम थालिएको डिभिजन वन कार्यालयको भनाइ छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया