माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन

 मंसिर २५, २०७६ बुधबार ९:२३:३२ | रासस
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका (कामपा) ले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे दुई किलोमिटर सडक खण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ । 

कामपाले मंगलबार आयोजना गरेको पूर्वाधार विकास र लेन सञ्चालनका लागि गुरुयोजनाका विषयमा छलफलका क्रममा यस किसिमको धारणा सार्वजनिक गरेको हो ।  

कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले चाँडो गन्तव्यमा पुग्नुपर्ने शहरी चरित्र र बिस्तारै गन्तव्य तय गर्न सकिने साइकल यात्रा दुवैको चरित्र मिसाएर योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै शहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल आवश्यक रहेको बताउनु भयो ।   

कामपा शहरी योजना आयोगका सदस्यसचिव सरोज बस्नेतले पहिलो चरण यी ठाउँमा साइकल लेन सञ्चालन गर्न लागिएको र यसको प्रभावकारिता हेरी अन्य स्थानमा पनि तयार गर्ने बताउनु भयो । 

कामपा ११ का अध्यक्ष हीरालाल तण्डुकारले ६ वर्षअघि नै सञ्चालनमा आउनुपर्ने यो ट्र्याक अहिलेसम्म सञ्चालनमा आउन नसक्नुको कारण कोट्याउँदै राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन र उपभोक्ताबीचको अन्तर्सम्बन्ध स्थापना हुन नसक्नुलाई मुख्य कारण औँल्याउनुभयो । 

जुनसुकै पूर्वाधार तयार पार्दा पनि पैदलयात्रीलाई लक्षित वर्ग बनाउनुपर्ने वातावरणविद् भुषण तुलाधरको धारणा थियो ।  
    
काठमाण्डौको सडकमा गुड्ने झण्डै साढे ६ लाख सवारीसाधनको १ दशमलव ५ प्रतिशत यात्रु साइकलमा सवार हुने तथ्याङ्कले देखाएको छ । भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाण्डौ उपत्यका पैदलयात्रा र साइकल प्रयोगका लागि अनुकुल रहेको सहभागीहरूको भनाइ थियो ।  

महानगरले लेन निर्माणका लागि ३ करोड रुपैयाँभन्दा बढी खर्चिने जनाएको छ । ललितपुर महानगरले यसअघि नै कुपण्डोलदेखि मङ्गलबजारसम्म लेन बनाउनका लागि शिलान्याससमेत गरिसकेको छ । 

धेरै साइकल प्रयोगकर्तालाई साइकल ट्र्याकका बारेमा जानकारी नै नहुने हुँदा यसबारे पनि सर्वसाधारणसम्म जनचेतना पु¥याउनुपर्ने धारण सहभागीको थियो । आउँदो शनिबार तोकिएको ठाउँमा परीक्षणका रूपमा साइकल यात्रा सुरु गरिनेछ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया