हिमालय एअरले फेरि क्वालालम्पुर उडान थाल्यो, भ्रमण वर्षमा टेवा पुग्ने दावी

 मंसिर २५, २०७६ बुधबार १५:५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिमालय एअरलाइन्सले काठमाण्डौ–क्वालालम्पुर उडान फेरि सुरु गरेको छ ।

यही मंसिर २३ गते सोमबारदेखि मलेसियाकाे क्वालालम्पुरका लागि उडान थालिएको हिमालय एअरलाइन्सले  जनाएको छ । हिमालयले क्वालालम्पुरको लागि पहिलो उडान २०१७ को फेब्रुअरी १० मा गरेको थियो ।

वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति रोकिएपछि सन् २०१८ को नोभेम्बरबाट एअरलाइन्सको मलेसियाको उडान स्थगित भएको थियो । तर मलेसिया रोजगारी खुलेको र नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरेर फेरि उडान सुरु गरिएको एअरलाइन्सले जनाएको छ ।

गएको सोमबार हिमालय एअरलाइन्सको जहाज १५० यात्रु लिएर मलेसिया उडेको थियो र ८२ जना यात्रु लिएर मंगलबार काठमाण्डौ आएको थियो ।

‘हामी क्वालालम्पुर र काठमाण्डौबीचको सिधा उडान फेरि सञ्चालन गर्न पाउँदा एकदमै हर्षित भएका छौँ । यी दुई स्थानबीचको उडानले दुवै देशका याुत्रहरुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । साथै, यो उडानले दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ’, एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, ‘ दुवै बजारबाट यस उडानका लागि ठूलो माग भइरहेको छ र दुई देशको सरकारबीच भएको सम्झौताले यात्रुको संख्या पनि बढ्ने देखिन्छ । यो सञ्जालले मलेसियामा काम गर्नै ठूलो संख्यामा रहेका नेपालीहरुलाई मात्र सेवा प्रदान नगरी नेपाल भित्रिने मलय पर्यटकहरु वृद्धि गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।’

हिमालय एअरलाइन्सले काठमाण्डौ–क्वालालम्पुर रुटमा सोमबार र बिहीबार गरी हप्ताका २ वटा उडान गर्नेछ । दुवै रुटमा बिजनेस क्लासका लागि ४० किलो र इकोनाेमी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क उपलब्ध गराएको छ ।

हिमालय एअरलाइन्समा नेपाल र चीनका व्यवसायीको लगानी रहेको छ । सन् २०१६ को मे महिनादेखि उडान सुरु गरेको हिमालय एअरलाइन्सको स्वामित्वमा तीनवटा ए ३२० जहाज छन् । हिमालयले अहिले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं र चाडंसा गरी ८ वटा गन्तव्यमा  उडान गर्दै आएको छ ।

हिमालय एअरलाइन्स साउदी अरेबियाको दमाम र चीनमा उडान गर्ने एक मात्र नेपाली हवाइ कम्पनी हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया