हिलारी र तेन्जिङकाे सगरमाथा आराेहणबारे बनेकाे वृत्तचित्रको प्रदर्शनसँगै सुरु भयो ‘किम्फ’

 मंसिर २५, २०७६ बुधबार २०:५४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को १७ औं संस्करण बुधबारदेखि सुरु भएको छ ।

बुधबार राष्ट्रिय सभा गृहमा महोत्सवका निर्णायकहरु अस्मिना रञ्जित, ग्याब्रियला कुह्न, जेक्यु ली र किम्फका अध्यक्ष वसन्त थापाले संयुक्त रुपमा किम्फको पोस्टर सार्वजनिक गर्दै घन्टी बजाएर महोत्सवको उद्घाटन गरेका थिए ।

‘सीमान्त आवाज’ नारासहित आयोजित महोत्सवको उद्घाटनमा निर्देशक एन्टोनेलो पादोभानोको ‘द एसेन्ट अफ् एभरेष्ट’ फिल्म प्रदर्शन गरिएको थियो । सर एडमन्ड हिलारीको जन्म शताब्दीको अवसर पारेर प्रदर्शन गरिएको ५६ मिनेटको फिल्ममा सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका हिलारीले पहिलो पटक सगरमाथा आरोहणको दृश्यहरु समावेश गरिएको छ ।

उद्घाटन समारोहमा किम्फका अध्यक्ष वसन्त थापाले १९ वर्षअघिबाट सुरु भएको किम्फ यो १७ औं संस्करणसम्म आइपुग्दा तन्नेरी भएको बताउनुभयो । यसपटक नेपाललगायत ६९ देशका ४२७ वटा फिल्महरूको प्राप्त भएकोमा २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन गर्न लागिएको अध्यक्ष थापाले जानकारी गराउनुभयो ।

‘हरेक वर्ष नयाँ उत्साहसहित महोत्सव सुरु गरिरहेका छौँ । यसपटक ६९ देशका ४२७ वटा फिल्महरूको प्राप्त भएकोमा २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन हुनेछन् । फिल्म हेर्न दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण लगायत विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगवादी फिल्महरू देखाइनेछन्’ आयोजना हिमाल एसोसिएशनका अध्यक्ष वसन्त थापाले भन्नुभयो । 

महोत्सवकी निर्देशक रम्यता लिम्बूले यसपटक १७ वटा फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएको जानकारी दिनुभयो । नेपाल पानोरमाअन्तर्गत १४ वटा फिल्म देखाइने उहाँले जानकारी दिनुभयो ।

‘यसपटक किम्फमा हामीले २९ देशका ७९ वटा प्रेरणादायी फिल्महरु प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ । महोत्सवमा साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति र पर्वतीय जीवनशैली विषयका फिल्महरु प्रदर्शन हुँदैछन् । सर एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेको शताब्दी वर्षलाई यसपटक विशेष रुपमा मनाउँदै छौं । त्यसबाहेक नेपाली फिल्ममेकरहरुलाई प्रोत्साहन गरेका छौँ’, उहाँले भन्नुभयो । 

बुधबार ‘ग्राउलिङ माउन्टेन’, ‘जर्नी टु द सेन्टर अफ् द हार्ट’, ‘इन द स्टारलाइट’, ‘क्राउड किङडम’ र ‘इन बिट्वीन स्टेट्स’ लगायत फिल्महरु प्रदर्शन भएका थिए । 
फ्रान्सका निर्देशक अरोरी लरेन्टको ५२ मिनेट लामो ‘ग्राउलिङ माउन्टेन’ फिल्मले नेपाली समाजमा हेभी मेटल संगीतको विकास र अवस्थाको चित्रण गरेको छ । अष्ट्रेलियाका कलानी गाकोनले निर्देशन गरेको ८० मिनेट लामो ‘जर्नी टु द सेन्टर अफ् द हनर्ट’ फिल्ममा आप्रवासी नेपालीको समस्या र वेदना समेटिएका थियो । 

महोत्सवलगत्तै विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) को आयोजनामा हिउँचितुवा संरक्षणसम्बन्धी कथावाचन कार्यक्रम आयोजना गरिएको थियो । यसमा घनश्याम गुरुङ, समुन्द्र सुब्बा र सेरेन श्रेष्ठले हिउँचितुवा संरक्षणबारे आ–आफ्नो धारणा राखेका थिए । महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शनीमा राखिएका छन् ।

आउँदो मंसिर २९ सम्म आयोजना हुने महोत्सवमा २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन गरिनेछन् ।

महोत्सवको दोस्रो दिन ‘अस्मिना’, ‘बियोन्ड ड्रिम’, ‘रंगहीन पुतली’, ‘तिर्खा’, ‘आमा खान्डो’ र ‘अप टु स्पीड’ लगायत फिल्महरु प्रदर्शन हुनेछन् । त्यस्तै, प्लान इन्टरनेसनलको महिला सशक्तिकरणसम्बन्धी कार्यक्रम पनि आयोजना हुँदैछ । 

यसपटक महोत्सवअन्तर्गत नेपाली पानारोमा सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खास्, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ लगायत फिल्म प्रदर्शन हुनेछन् । प्रदर्शन गरिने फिल्महरुमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन् ।

महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन् । 

त्यस्तै ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ । कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानकविधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ ।

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको शर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन गरिनेछन् । त्यसबाहेक महोत्सवमा तीन वटा स्विस फिल्महरूको विशेष प्रदर्शनी हुँदैछन् । स्विस कथानक फिल्म ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ । 

माफिल कोट्स (बेलायत), जेक्यु ली (कोरिया) र  ग्याब्रियला कुह्न (पोल्याण्ड) सहितको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरु छनोट गर्नेछन् ।

एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास सञ्चालन गर्नेछन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया